निर्मला पन्त बलात्कार-हत्याको अनुसन्धान नयाँ मोडमा आइपुगेको छ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, उनका छोरा र भीमदत्तनगरका मेयरका भतिजाको डिएनए निर्मलाको ‘भेजाइनल स्वाब’सँग नमिलेपछि घटनामा को संलग्न थिए र कसलाई बचाउन प्रहरीले घटना प्रमाणहरू नष्ट गरेको थियो भन्ने प्रश्न उठेको छ।
निर्मलाको बलात्कार-हत्यामा प्रहरीले प्रमाण नष्ट गरेको र लापरबाही गरेको कुरा स्वंय गृहमन्त्रीले सार्वजनिक गरेका छन्।
गत बुधबार संसदको राज्य व्यवस्था सांसदहरूले उठाएका प्रश्नको बुधबार जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले निर्मलाको हत्यापछि उनले लगाएका लुगा जलाएर प्रमाण नष्ट गरिएको बताएका थिए।
‘अनुसन्धानमा प्रहरीको लाज लाग्दो गल्ती देखिएको छ। उनले लगाएका लुगा खोलेर जलाइएको छ,’ गृहमन्त्री थापाले भनेका थिए, ‘अर्को कुरा उनको शव साउन ११ गते भेटिएको थियो। त्यही दिन तयार भएको मुचुल्कामा बुवाको औंठा छाप छ। जबकी उनका बुबा भारतबाट १२ गतेमात्र नेपाल आएका थिए।’
निर्मलाकी आमा दुर्गा पन्तले प्रहरीले नै प्रमाण नष्ट गरेकाले घटनामा उनीहरू नै संलग्न हुन सक्ने आफूहरूको आशंका भए पनि डिएनएमा रिपोर्ट नमिलेपछि नयाँ प्रश्न जन्मिएको बताइन्।
‘डिएनए मिलेन रे भन्ने भर्खरै सुनें। पहिला प्रहरीले प्रमाण मेटाउने काम गरेका थिए। लुगा पखालेका थिए। घटनास्थल पनि सिल गरेका थिएनन्।पुलिसमा रिपोर्ट गर्दा पनि सुनेनन्,’ पन्तले टेलिफोनमा भनिन्, ‘उनीहरू दोषी होइनन् भने कसलाई बचाउन त्यसरी प्रमाण नष्ट गरेका थिए त्यो त उनीहरूलाई थाहा होला, त्यो भन्नुपर्यो।’
उनले काठमाडौंमा भेट हुँदा प्रधानमन्त्रीको आश्वासनले न्याय पाइने आशा जागेको भए पनि अब त्यो मर्दै गएको बताइन् ।
‘तर पनि यहाँ दिदीबहिनीले साथ दिएका छन्। सरकारलाई दबाब दिन धर्ना बसेका छन्। छोरीले न्याय नपाएसम्म हामी लड्छौं,’ पन्तले भनिन्।
यसैबीच अनुसन्धानका नाममा प्रहरीले अहिले दु:ख दिइरहेको स्थानीयवासीले गुनासो गरेका छन्।
सेतोपाटीसँग कुरा गर्दै अधिकारकर्मी शारदा चन्दले घटना भएको स्थान र बम दिदी बहीनीलाई अनुसन्धान गर्नु पर्नेमा प्रहरीले गाउभरिका स्थानीयलाई अपराधीजस्तै पक्राउ गर्ने गरेको बताइन्।
‘निर्मला एक वर्ष पहिला गएको ठाँउमा गएर प्रहरीले धेरैलाई दु:ख दिन थाल्यो, यो कस्तो अनुसन्धान हो?’ चन्दले भनिन्, ‘१५ दिनअघि प्रधानमन्त्रीले निरास हुनु पर्दैन भनेर पठाउनुभएको थियो, तर आज प्रहरीले जिल्लामा टिक्न नदिने भयो, अनुसन्धान भनेको छ, सबै जनालाई दु:ख दिएको छ।’
निर्मलाका बुबाले ६ वर्षअघि घर बनाउँदा डाकेका मिस्त्री र ठेकेदारलाई पनि अनुसन्धानका नाममा प्रहरीले दु:ख दिएको उनले बताइन्।
कन्चनपुर प्रहरी प्रमुख एसपी कुवेरबहादुर कडायतले भने निर्मला पन्त हत्या अनुसन्धान भइरहेको र त्यसैका क्रममा सोधपुछ गरिएको छ।
‘कञ्चनपुर प्रहरीले अनुसन्धान गरिरहेको छ, प्राविधिक रूपमा सिआइबीले सहयोग गरिहेको छ, घटनाको यथार्थ बाहिर आउँछ,’ कडायतले भने।
यो पनि :
एसपी बिष्टलगायत तीनै जनाको डिएनए मिलेन