तत्कालीन सगरमाथा अञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रूपमा २०४४ सालदेखि स्थापना भइ सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट मोतिगडामा अवस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस अब प्रदेश नं १ को विश्वविद्यालय बनाउने तयारी सुरू भएको छ।
गत आइतबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले त्रियुगा जनता बहुमुखी क्याम्पसको नवौं साधारणसभाको उद्घाटन गर्दै सो क्याम्पसलाई प्रदेश नं १ को नै विश्वविद्यालय बनाउने घोषणा गरेपछि अहिले विश्वविद्यालयको रूपमा क्याम्पसलाई विकास गर्नका लागि विज्ञ र प्राविधिक टोलीले अध्ययन कार्यका लागि तयारी भएको छ।
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका क्याम्पस प्रमुख रमेशचन्द्र रोकाका अनुसार प्रदेश नं १ का मुख्यमन्त्रीले नै यस क्याम्पसलाई प्रदेश नं १ को विश्वविद्यालय बनाउने चाहना र इच्छा प्रकट गरेका कारण पनि अहिले यसका लागि प्राविधिक र विज्ञ टोलीले पहिलोपटक अध्ययन कार्यको लागि तयारी गर्ने रहेको क्याम्पस प्रमुख रोकाले बताए।
अध्ययन टोलीका लागि प्रदेश सरकारको तर्फबाट शिक्षा विभाग हेर्ने टोली, त्रिभुवन विश्वविद्यालयका केही विज्ञ र क्याम्पस प्रशासनसहितको सहभागितामा अध्ययन कार्य गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख रोकाले बताए।
यस विषयमा क्याम्पसका व्यवस्थापन समितिका सदस्य महेन्द्रकुमार राईकाअनुसार सो क्याम्पस सगरमाथा अञ्चलकै पहिलो र पुरानो सामुदायिकस्तरबाट सञ्चालन भएको र यसको भौतिक पूर्वाधारसमेत राम्रो रहेकाले यसलाई विशवविद्यालयको रूपमा विकास गर्न सकिने धारणा राखे।
पाँच बिगाहा क्षेत्रफलको जग्गाभित्र अव्यवस्थित उक्त क्याम्पसको चौध भवनसहित एक नं प्रदेशकै उत्कृष्ट पुस्तकालय, वातावरणमैत्री स्थानलगायत भौतिक पूर्वाधारको हिसाबले पनि उत्कृष्ट रहेका कारण प्रदेशस्तरको विश्वविद्यालय सञ्चालन गर्नअनुकूल रहेकाले आफूहरु र प्रदेश सरकारको चाहना, सहयोगमा यो क्याम्पस प्रदेशको विश्वविद्यालय सञ्चालन गर्न उपयुक्त रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार बस्नेत बताए।
हाल यस क्याम्पसमा मानविकी, शिक्षा सङ्काय र व्यवस्थापनसहित केही प्राविधिक विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुँदै आएको छ। सो क्याम्पसमा खोटाङ, ओखलढुङ्गा, सोलु उदयपुरसहित सिरहा र सप्तरीबाटसमेत यो क्याम्पसमा विद्यार्थी अध्ययन गर्न आउने गर्दछन्। हाल एक हजार ७०० भन्दा बढी विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् ।