काठमाडौं प्रहरीले तस्करीको तीन किलोग्राम सुन समातेको छ।
रसुवाको केरूङ नाका हुँदै आएको उक्त सुनसहित प्रहरीले दुई जना भरिया पनि समातेको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए।
पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका -१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन्।
उनीहरू दुवैले रसुवामा घर बनाउने ठेक्कापट्टा गर्ने काम गर्दै आएको प्रहरीको अनुसन्धानको क्रममा खुल्न आएको छ।
उनीहरूले १ किलो सुन ‘पास’ गराएबापत ५० हजार लिने गरेको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो।
उनीहरूले २ महिनामा २ पल्ट गरी ३ किलो सुन ल्याइसकेको प्रहरीले जनाएको छ।
सुन व्यापारीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघमार्फत् परीक्षण गराउँदा १ करोड ५० लाख बराबरको सुन प्रमाणित भएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो।
भन्सार ऐनअन्तर्गत उनीहरूलाई १ करोडदेखि ५ करोडसम्मको विगोमा १ वर्षदेखि ३ वर्षसम्मको कैद सजाय हुनेछ।
भदौ २३ गते गोरखा प्रहरीले १० किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको थियो।