सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखविहीन रहेका छन्।
देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत बैतडीका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखविहीन बनेका छन्।
शिक्षा शाखा प्रमुखविहीन हुँदा जिल्लाका स्थानीय तहले शिक्षासम्बन्धी कामकाज गर्न असहज भएको जनाएका छन्। नगरपालिकामा उपसचिव एक, शाखा अधिकृत एक र एक प्राविधिक सहायक र गाउँपालिकाका एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ। तर, बैतडीका कुनै पनि स्थानीय तहमा त्यो दरबन्दी पदपूर्ति हुनसकेको छैन।
दरबन्दी पदपूर्ति नहुँदा शिक्षासम्बन्धी कामकाज गर्न समस्या भइरहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।
उनले भने, ‘विकासको मेरुदण्ड मानिएको शिक्षाका कर्मचारी अभावमा कामकाज प्रभावित भएको छ।’
संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको भए पनि शिक्षाका दरबन्दी पदपूर्ति नहुँदा समस्या भएको छ। संविधानको व्यवस्थासँगै नगरपालिकाको नगर शिक्षा शाखाको प्रमुख र गाउँपालिकामा गाउँ शिक्षा शाखामा शिक्षाका अधिकृत खटाइएका हुन्। तर, यहाँका स्थानीय तहमा कर्मचारी पुगेका छैनन्।
साविकमा विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतलाई नै स्थानीय तहमा शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो । शिक्षा अधिकारी नहुँदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित भएको छ।
शिक्षा प्रमुखको जिम्मेवारी स्रोत व्यक्तिलाई
जिल्लाका कुनै पनि स्थानीय तहमा सरकारी दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या हुँदै आएको छ। यहाँका १० वटै स्थानीय तहमा शिक्षाका निजामती कर्मचारी नभएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जनाएको छ।
दोगडाकेदार गाउँपालिकामा एक प्राविधिक सहायकबाहेक अन्य स्थानीय तहमा निजामती कर्मचारी नभएको विद्यालय निरीक्षक शङ्करदत्त भट्टले बताए।
स्रोत व्यक्तिले नै हाल जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखा सम्हालिरहेका छन्। उनले भने, ‘कर्मचारी पदपूर्ति नहुँदासम्म स्रोत व्यक्तिलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको छ।’
शिक्षकबाट काजमा रहेका स्रोत व्यक्ति यसअघि विभिन्न क्षेत्रमा खटाइएका थिए। ती स्रोत व्यक्तिले नै अहिले स्थानीय तहका शाखाको जिम्मा पाएका हुन्।
स्थानीय तह शिक्षा शाखा प्रमुखविहीन बन्दा शिक्षा नियमावली बनाउने, विद्यालय मर्ज गर्नुपर्ने काम र शिक्षा बजेट नै खर्च गर्न नसकिने अवस्था रहेको जनाइएको छ। सघीय सरकारले शिक्षाका उपसचिवलाई नगरपालिका र गाउँपालिकामा शाखा अधिकृत खटाइने तयारी भएकाले केही स्थानीय तहमा पदपूर्ति हुने जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए।
उनले भने, ‘सङ्घीय मन्त्रालय मर्ज हुँदा भएको अलमलले समस्या आएको छ, समस्या समाधान हुन्छ।’
सरकारी दरबन्दीअनुसार बैतडीमा रहेका छ गाउँपालिका र तीन नगरपालिकामा २४ कर्मचारी दरबन्दी रहेको छ। तर, जिल्लाको दोगडाकेदार गाउँपालिकामा एक प्राविधिक सहायकबाहेक अन्य २३ को दरबन्दी हुनसकेको छैन। नगरपालिकामा उपसचिव एक, शाखा अधिकृत एक र एक प्राविधिक सहायक र गाउँपालिकाका एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ ।