नवलपरासीमा अर्की एक महिलामाथि छुरा प्रहार गरी एसिड छ्यापिएको छ। एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको मृत्यु भएकै दिन अर्की महिलामाथि आक्रमण भएको हो।
कावोसोती नगरपालिका १६ हर्वासीकी ३० वर्षीया वसन्ती परियारमाथि सोमबार साँझ एसिड आक्रमण गरिएको हो।
सोही ठाउँका ३७ वर्षीय विमल श्रीपालीले वसन्तीमाथि छुरा हानेर एसिड छ्यापेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। कञ्चट र छातीमा छुरा प्रहार गरिएको प्रहीले जनाएको छ।
श्रीपालीले छुरा प्रहारपछि अनुहार छातीमा एसिड छ्यापेको प्रहरीले जनायो। श्रीपालीलाई सोमबारै प्रहरीले पक्राउ गरिसकेको छ।
एसिड र छुरा प्रहार गरिएकी परियारको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ।
प्रहरीका अनुसार सोमबार साँझ अन्दाजी साढे ६ बजे एसिड आक्रमण भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुबै जनाको पुरानो प्रेम सम्बन्ध थियो।
दुबैको बिहे भइसकेको छ। विमलले केही समययता वसन्तीसँग बिहे प्रस्ताव राखिरहेका थिए। ‘विमलको वैवाहिक सम्बन्ध खटपट रहेको र सम्बन्धविच्छेद प्रक्रिया चलिरहेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘सोही कारण वसन्तीसँग सम्बन्ध स्थापित गराउन खोजिरहेको बुझिएको छ।’
वसन्तीले बिहे प्रस्ताव अस्वीकार गर्दै आएकी थिइन्। सोहीकारण विमलले आक्रोशमा छुरा हानेर एसिड छ्यापेको प्रहरीले जनाएको छ। विमलमाथि अनुसन्धान तथा कारबाही थालिएको प्रहरीले जनाएको छ।