आइतबार असोज ७ गते नेपाली काव्य क्षेत्रमा आफ्ना छन्दमय काव्यकृतिका लागि चर्चित राष्ट्रकविको उमेरले शताब्दी कटायो। उनले जिएको यो समय एउटा ठूलो कालखण्ड हो, जिउँदो इतिहास हो। सय लागेका राष्ट्रकविको यो उमेर अरू हेरी सामान्य अवस्थामा अलि जटिल हुनपर्ने हो। तर, उनले उमेरको प्रभाव आफूमा पर्न दिएका छैनन्।
शनिबार उनको निवासमा उनी त्यस्तै रूपमा प्रस्तुत भए।
व्यङ्ग्यात्मक देउसी भैलोको लागि चर्चित सिस्नुपानी नेपालले अाइतबार राष्ट्रकवि घिमिरेको निवासमै गएर दीर्घायु जीवनको शुभ-कामना दियो। केही समय अगाडि अस्वस्थ्य अवस्थालाई जित्दै अस्पतालबाट सामान्य अवस्थामा घर फर्किएका घिमिरे उनीहरूको सम्मानबाट दंग त छँदै थिए, साथमा उनले उपस्थितहरूलाई हँसाए पनि।
सिस्नुपानीले उनको निवासमा सय वर्ष पुगेको अवसरमा १०० पालाले १०० वर्ष लेख्दै तिनलाई प्रज्वलित गर्दै सम्मान प्रकट गर्यो। पहिलो पाला उनकै हातबाट सल्काइयो। बाँकी प्यालाहरूमा सिस्नुपानीका सदस्य र अन्यले सघाए। उनलाई सय वटा सयपत्री फूल गाँसेर उनिएको माला पहिराइयो, साथमा ढाकाको टोपी र खादा पनि अर्पण गरियो।
छेउमा उनकी धर्मपत्नी महाकाली घिमिरेलाई पनि साथै राखेर सम्मान गरियो। उनी पनि यसै साता ८४ वर्ष लाग्दैछिन्।
सिस्नुपानीले यसका अलावा उपहार पनि प्रदान गर्यो। हातमा उपहारको झोला लिएपछि घिमिरेको मनमा कौतुहलता बढेको हुनुपर्छ सायद।
उनले उपहार के रहेछ हेर्न मन गरे। आँगनैभरि आफूलाई शुभकामना दिन आएकालाई हेर्दै उनले भने, ‘हेरूँ भने लोभी रहेछ भन्लान्!'
राष्ट्रकविको कुरा सुनेर सबैले हाँसो छुटाए। उनलाई उपहार खोलेर हेर्न आग्रह गरियो।
उनलाई सिस्नुपानी नेपालका महासचिव टङ्क आचार्यले सघाए।
भित्र स्वीटर रहेछ। उनले स्वीटर मन पराए।
आचार्यले थपे, ‘यो स्वीटरले जति वटा जाडो छल्छ त्यतिवटा वर्ष दायाँ-बायाँ गर्न पाइँदैन।’
‘हो,’ घिमिरेले भन्दै टाउको हल्लाउँदै सहमति जनाए।
उनी त्यतिमै अडिएनन् र आफ्नो मनको कुरा यसरी जाहेर गरे, ‘यस्तो युग आयो सबै कुरा पाइने तर आफ्नो उमेर भने गइसक्यो।’
फेरि पहिले जसरी नै उपस्थितहरूले हाँसो गुञ्जाए।
उनले फेरि स्वीटर उचालेर हेरे।
यससँगै सिस्नुपानीले उनका लागि केही सांगीतिक कार्यक्रम पनि पस्कियो। शिशिर योगीले गीत गाए भने मनोज गजुरेलले कविता र गीतको समिश्रण भनेर ‘गविता’ सुनाए।
त्यस्तै कवि रामप्रसाद ज्ञवाली तथा कवियत्री मोमिलाले कविता बाचन गरे भने अर्की युवाकवि मालिका खतिवडाले घिमिरेको चर्चित काव्यकृति ‘गौरी’का अनुच्छेदहरू सुनाइन्। लक्ष्मण गाम्नागेले व्यंग्य कविता सुनाएका थिए।
उनले सबैको प्रस्तुतिलाई राम्रो भनेर तारिफ गरे।
यस्तै, बाँसुरीवादक नगेन्द्र राईले तबलामा जगन्नाथ धौगाडासँग मिलेर बाँसुरीमा ‘फूलको थुँगा’ तथा राग सुनाएका थिए।