गत जेठमा ट्रयाक खुलेको मैलुङ-स्याप्रुवेशी सडकको धेरै भाग पहिरोले पुरिएको छ।
बर्खासँगै आएको पहिरोले ट्रयाकको अधिकाशं भाग पुरेको हो।
अत्याधिक पहिरो आएपछि सडक विभागले स्तरोन्तिको डिपिआर बनाउन फेरि अध्ययन गर्नुपर्ने भएको छ।
गल्छी–त्रिशूली–रसुवागढी सडक आयोजनाका प्रमुख सुबोध देवकोटाले धेरै ठाउँमा पहिरो आएकाले असारमा गरिएको अध्ययन अनुसार काम गर्न नसकिने बताए।
‘धेरै ठाउँमा पहिरो छ। पहिरो त्यहाँको अवस्थिति परिवर्तन भएको छ। यसले लागतमा फरक पार्छ। त्यही भएर हामीले फेरि अध्ययन गरेर डिपिआर बनाउन लागेका छौं,’ देवकोटाले सेतोपाटीसँग भने।
नेपाली सेनाले गत जेठमा गते यो सडकको ट्रयाक खोलेको थियो। पहरामा बिस्फोट गराएर ट्रयाक खोलिएकाले धेरै ठाउँमा पहिरो गएको देवकोटाले बताए।
‘फेरि अध्ययन गरेर असोज मसान्तसम्म डिपिआर बनाइसक्ने हाम्रो लक्ष्य छ,’ उनले भने।
विभागले काठमाडौंसँग चिनियाँ नाका जोड्ने सबैभन्दा छोटो यो बाटो २ वर्षभित्र कालोपत्रे गर्ने जनाएको छ। सडक कालोपत्रे गर्ने साढे ३ अर्ब रूपैयाँ लाग्न बताइएको छ।
यो बाटो सञ्चालनमा आए काठमाडौंबाट रसुवागढी झन्डै २५ किलोमिटर छोटो हुनेछ। पासाङल्ह्यामु राजमार्गको बेत्रावती-धुन्चे-स्याप्रुवेशी खण्ड ५४ किलोमिटर छ। बेत्रावतीदेखि धुन्चेको उकालो र धुन्चेदेखि स्याप्रुवेशीसम्मको ओरालोमा ३५ घुम्ती छन्। राम्चे र मूलखर्कमा जाने पहिरोले यो बाटो बेलाबेला अवरोध हुने गर्छ।
नयाँ बनेको बेत्रावती–मैलुङ–स्यापू्रुवेशी सडक ३१ किलोमिटरको छ। त्रिशुलीको किनारैकिनार जाने बेत्रावती– मैलुङ–स्याप्रुवेशी खण्डमा ठूला घुम्ती छैनन।
सडक स्याप्रुवेशीदेखि मैलुङसम्म त्रिशुलीको बायाँ किनारा हुँदै आउँछ। मैलुङमा १३० मिटर लामो बेलिब्रिज हालिएको छ।
मैलुङदेखि तल त्रिशुलीको दायाँ किनारामा सडक बनाइको छ।
विभागले धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर बाटो २ लेन बनाउने काम पनि थालिसकेको छ।
गल्छी–बेत्रावती सडकको दुई लेनको काम अहिले भइरहेको छ।
स्याप्रुवेशीदेखि रसुवागढीसम्मको १६ किलोमिटर बाटो चीन सरकारले दुई लेन बनाएर कालोपत्रे बनाउने सम्झौता भइसकेको छ। चिनियाँ पक्ष अहिले टेन्डर प्रक्रियामा रहेको आयोजना प्रमुख देवकोटाले जानकारी दिए।
यो सडक काठमाडौंलाई चीनसँग जोड्ने सडकमात्र होइन नेपाली भूमि हुँदै भारत र चीन जोड्ने पनि सबैभन्दा छोटो सडक हो।
रसुवागढी–गल्छी–मुग्लिन–भरतपुर हुँदै यो बाटोको चितवन ठोरीमा भारतीय नाकासँग जोडिन्छ। गत भदौमा नेपाल र चीनले रसुवागढी–केरूङलाई दुई देशको अन्तर्राष्ट्रिय नाका घोषणा गरेका छन्।
रसुवागढी–केरूङ २०७१ मंसिर १५ बाट द्विपक्षीय नाकाका रूपमा सञ्चालनमा आएको थियो।
यसअघि उक्त नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर आवतजावत गर्न सक्थे।
अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण भएसँगै रसुवागढी–केरुङबाट तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन्।
चिनियाँ पक्षले केरुङदेखि रसुवागढीसम्म सडक लगायत पूर्वाधार तयार पारिसकेको भए पनि नेपाली पक्षले गर्नुपर्ने धेरै काम बाँकी छन्।