जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ ।
भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो ।
आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन भइरहेको जिससका सब–इञ्जिनियर तीलक केसीले बताए ।
जिल्लामा हालसम्म २०७ झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।
प्रतिपुल निर्माणका लागि २५ लाखदेखि ४५ लाखसम्म खर्च हुने गरेको छ । ट्रस्टपुल कम लागतमा तयार भए पनि झोलुङ्गे पुलमा अत्यधिक बजेट खर्च भइरहेको केसीले बताए । पुराना पुल मर्मत र नयाँ निर्माणका लागि समुदायबाट माग आइरहेको केसीको भनाइ छ ।
हालसम्म सुनछहरी गाउँपालिकामा सबैभन्दा धेरै झोलुङ्गे पुल निर्माण भएको छ । सो गाउँपालिकामा ६० झोलुङ्गे पुल निर्माण भइसकेको छ ।
यसैगरी दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकामा जिल्लामै कम झोलुङ्गे पुल निर्माण भएको देखिएको छ । रुन्टीगढी गाउँपालिकामा हालसम्म जम्मा ६ मात्रै झोलुङ्गे पुल निर्माण भएको बताइएको छ ।
जिल्लाको दुर्गम भूगोललाई प्राथमिकता दिएर काम गरेका कारण उत्तरपूर्वी रोल्पामा बढी मात्रामा झोलुङ्गे पुल बनेको गैसस विकास सरोकार समाज रोल्पाका अध्यक्ष कर्ण वाँठाले जानकारी दिए ।
स्थानीय जनताले काठको अस्थायी पुल तथा फड्के बनाउँदा हरेक वर्ष वनजङ्गलको समेत नास हुँदै आएकामा पुल निर्माणले स्थायी समाधान दिनुको साथै जङ्गल विनास हुनबाट समेत जोगिएको बताइएको छ ।
पुल निर्माणपछि सुरक्षित यात्रा गर्न पाएकामा सूर्योदय आधारभूत विद्यालय धवाङ्गका शिक्षक बुद्धीराम केसीले खुशी व्यक्त गरे ।
'२० वर्षे जागिर अवधिमा १९ वर्ष खोला तरेरै आवतजावत गरियो, अघिल्लो वर्ष पुल बनेकाले सजिलो भएको छ, केसीले भने', वर्षातको मौसममा निकै चुनौती मोलेर खोला तर्न बाध्य भयौं।'
पुल अभावका कारण सोही खोलामा बगेर धेरै मान्छेले ज्यान गुमाएको तथा घाइते भएको केसी सम्झन्छन् ।
हरेक वर्ष स्थानीय जनताले वनका ठूलठूला रुख काटेर फट्के हाल्ने चलन भए पनि त्यसको स्थायित्व नहुनाका साथै वन पनि विनास हुँदै आएको शिक्षक केसी बताउँछन् ।
(उमा केसी: रासस)