सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा वीरगन्ज महानगरपालिकाका दुई जना कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाको टोलीले बिहीबार महानगरका कर्मचारी पक्रेको हो।
पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साह छन्। उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
वीरगन्ज महानगरपालिका–१४ स्थित अर्कोन इन्टरनेसनल एकेडेमी बोर्डिङ स्कुल दर्ता गर्ने क्रममा सो एकेडेमीका एकवाल हैदरसँग कर्मचारीले घुस मागेको बताइएको छ। शशिभूषणका भान्जा अरबिनकुमार साहको पसलमा पैसा लिन लगाइएको र दिने क्रममा पक्राउ गरिएको बताइएको छ। अरबिनकुमारलाई पनि अख्तियारले पक्राउ गरेको छ।