सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले भुटाहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेका हुन्।
प्रहरीका अनुसार बिहीबार बिहान साढे बजे सुनसरी-हरिनगर २ का स्थायी बासिन्दा आलममाथि गोली हानेका थिए। गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको छ। वृद्धबजारबाट झुसी जाने बाटोमा हिँडिरहेका बेला उनीमाथि पछाडिबाट गोली हानिएको प्रहरीले जनाएको छ।
आलमलाई गोली हानेर फर्किएका हतियारधारीले प्रहरीमाथि पनि गोली चलाएका थिए। सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका हतियारधारीको गोली प्रहारबाट प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन्।
तिघ्रा, कम्मर र ढाडमा गोली लागेका पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको उप्रेतीले बताए। घटनापछि नेपाल भारत सिमा नाका सिल गरिएको उप्रेतीले बताए। ‘हतियारधारी को थिए खुलेको छैन,’ प्रमुख जिल्ला अधिकारी उप्रेतीले सेतोपाटीसँग भने, ‘बोर्डर सिल गरी खोजी थालिएको छ।’