कीर्तिपुर बलात्कार घटनाको अभियोगपत्र सरकारी वकिल कार्यालय पठाउने तयारी भएको छ। घटनाबारे अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अदालतले भदौ २८ गते पीडकको कल डिटेल लिन आदेश दिएको छ। ‘कल डिटेल (सिडिआर) माग गरेका छौं सो आउनेवित्तिकै मुद्दा बुझाउने हाम्रो तयारी छ,’ कीर्तिपुर बृत्तका प्रमुख डिएसपी अनिल खड्काले भने। उनका अनुसार ३० गते कल डिटेल दिन टेलिकमलाई पत्र लेखिएको छ सो आउने क्रममै छ।
प्रहरीले कीर्तिपुर बलात्कार घटनामा कैलाली घर भएका हेम खत्रीलाई भदौ ५ गते पक्राउ गरेको थियो। उनीमाथि जबरजस्ती करणी, अपहरण तथा शरीरबन्धक मुद्दा दर्ता गरी अनुसन्धान थालिएको थियो।
भदौ २ गते इमाडोलस्थित घरबाट हिँडेका १३ र १४ वर्षीया दिदीबहिनी किशोरीमध्ये १३ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ। घर छोडेर हिँड्ने क्रममा बानेश्वरमा खत्रीसँग दुबैको भेट भएको थियो।
खत्रीले कीर्तिपुरस्थित डेरामा लगेर बलात्कार गरेको प्रहरीको भनाइ थियो। तर, अनुसन्धान क्रममा खत्रीले अरू कसैको कोठामा लगेको पाइएको छ।
‘जसको कोठामा लगिएको थियो, झिकाएर बयान लिने काम भइरहेको छ,’ खड्काले भने, ‘छरछिमेकका व्यक्तिहरूसँग पनि सोधपुछ गरिएको छ।’
२ गते नै हिँडेका किशोरीमध्ये १३ वर्षीयाले ५ गते आफन्तलाई फोन गरी घटना सुनाएकी थिइन्। सोही दिन आफन्तले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढेको थियो।