बस्तीको बीच र घरको छतमाथि रहेको प्रसारण लाइनका कारण जलजला गाउँपालिका २ र ३ बगरफाँटमा विद्युतीय दुर्घटनाको जोखिम बढेको छ । बेनीदेखि म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा ३२ केभी क्षमताको केन्द्रीय प्रसारण लाइनको तार बस्तीको बीचबाट तानिएको र सो तार घरको छतमा मानिस उभिँदासमेत विद्युत्को लाइन छोइने अवस्था छ ।
प्रसारण लाइन निर्माण भएपछि पनि सम्बन्धित निकायको अनुगमन र नियमन नहुँदा घर निर्माण हुनेक्रम भने रोखिएको छैन । उक्त लाइनको करेन्ट लाग्न सक्ने भएकाले घरको छतमा कपडा सुकाउनसमेत जोखिम मोल्नु परेको स्थानीयवासी सुरेश विश्वकर्माले बताए ।
करेन्ट लागेर पछिल्लो वर्ष तीन जना घाइते भएका थिए ।
विद्युत् प्रसारण लाइन तीव्र रूपमा बजारीकरण भइरहेको बगरफाँटका लागि धराप बनेको स्थानीयवासी हिराबहादुर बरुवालले बताउँछन् ।
बगरफाँट क्षेत्रमा करीब दुई किलोमिटर प्रसारण लाइन छ । एकसय २० घरधुरी प्रसारण लाइनको जोखिममा रहेका बगरफाँट हाइटेन्सन लाइन व्यवस्थापन उपसमितिका संयोजक टीका माइलीपारले बताए ।
प्रसारण लाइन व्यवस्थापनका लागि वडा र गाउँपालिकामार्फत ऊर्जा मन्त्रालयमा पहल गरिएको र यसका लागि लागि ३० लाख लाग्ने अनुमान गरिएको उक्त गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द खत्रीको भनाइ छ ।
बस्तीमा जोखिम नहुने गरी बस्तीदेखि तल कालीगण्डकीको किनारकै किनार तथा माथिल्लो क्षेत्रको पहाडको फेदी भएर प्रसारण लाइन व्यवस्थापन गर्न लागिएको उनले जानकारी गराएका छन् ।
प्रसारण लाइन व्यवस्थापनका लागि प्रभावित क्षेत्रका बासिन्दाले सरकारी निकायबाट सञ्चालन हुने योजनामा जनसहभागिताका लागि प्रतिघर १५ हजारका दरले सङ्कलन गर्न थालिएको छ ।
हालसम्म र चार लाख ६० हजार सङ्कलन भइसकेको छ । ऊर्जा मन्त्रालयले पनि यसका लागि योजना स्वीकृत गरिसकेको गाउँपालिकाले जनाएको छ ।