एक साताअघि रौतहटका दुई बालिकालाई तेजाब आक्रमण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रौतहट चन्द्रपुर–६ का ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरिएको हो।
१८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता दासलाई भदौ २६ गते राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा अनुहारमा तेजाब प्रहार गरिएको थियो। रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार ढकालले मंगलबार पासवानलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए।
मोबााइल कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी, किशोरीको बयानको आधारमा अस्पतालमा नै बिरामीसँगै गएका पीडितका छिमेकी पासवानलाई प्रहरीले पक्राउ गरेको हो। सम्झनाको मोबाइलमा पक्राउ परेका आरोपीको मोबाइलबाट १५ दिनमा एक सय ८० पटक फोन गएको पाइएको एसपी ढकालले बताए। सयौंपटक फोन गर्दा पनि किशोरीले फोन नउठाएपछि आक्रोश तेजाब आक्रमण गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ।
घटना भएको छ दिनपछि प्रहरीले पासवानलाई किशोरीहरूको उपचार भइरहेको कीर्तिपुरस्थित अस्पतालबाट पक्राउ गरेको हो। पासवानले घटनापछि घाइते भएका दुई किशोरीहरूको उपचारमा सहयोग गरेको नाटक गर्दै काठमाडौंसम्म पुगेको प्रहरीको भनाइ छ। आरोपीको हातमा तेजाबले पोलेजस्तो घाउ पनि देखिएको छ।
तेजाब आक्रमण गर्ने पक्राउ परेको जानकारी पाएपछि सयौंको संख्यामा जम्मा भएका स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि भेला भई प्रदर्शन गरेका छन्। उनीहरूले तजाब आक्रमणकारीलाई कडा कारबाही माग गरेका छन्।