दाङको दंगिशरण गाउँपालिका हेकुलीकी २९ वर्षीया हिरा कार्कीलाई अस्पतालले बच्चा जन्मिने मिति बुधबार भनेको थियो।
उनको अवस्था जटिल भएको हुँदा दाङमा सम्भव नहुने भन्दै राप्ती अञ्चल अस्पतालले बाँके जान सुझाएको छ। गाडी नचलेपछि हेकुली गाउँबाट अटोरिक्सामा चढेर तुलसीपुर बसपार्कसम्म आएकी कार्कीले नेपालगञ्ज जाने गाडी पाइनन्।
यस्तो अवस्थामा के गर्ने अन्योलमा छिन्। ‘काउन्टरमा सोध्दा गाडी जाँदैन भन्ने जवाफ दिए,’ कार्कीले चिन्ता व्यक्त गरिन्, ‘मेरो पहिलो बच्चा हो। यहाँको अस्पताले अवस्था जटिल छ अप्रेसन गर्नुपर्छ भनेको छ, तर आजै गाडी बन्द छ अब म के मा जाउँ!’
गाडी चलेको भए दुई सय पचासदेखि तीन सय रुपैयाँमा नेपालगञ्ज पुग्थिन्। प्रसूतिका लागि छुट्याएको बजेट अब कटौती हुने भएको छ। उनी एम्बुलेन्सबाट जान खाजिरहेकी छिन्। एम्बुलेन्समा गए उनले पाँच हजार बढी खर्च गर्नुपर्ने हुन्छ। एम्बुलेन्स पनि नपाएपछि समस्या बढेको हो। ‘एम्बुलेन्स खोजेँ, भेटेकी छैन,’ उनले भनिन्।
यातायात मजदुरहरूले गरेको बन्दका कारण सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँ जान पाएका छैनन्। संविधान जारी भएकै दिन ऐन संशोधनको माग गर्दै चालकहरूले बन्द आह्वान गरेका छन्। बन्दका कारण बुधबार बिहानैदेखि दाङसहित मध्यपश्चिम क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
सबै गाडी पार्किङमा छन्। कतियले सडकमै थन्क्याएका छन्। नयाँ ऐनमा दुर्घटनामा चालकको लापरबाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद गर्ने व्यवस्थाले चालकलाई अप्ठेरो भएको हुँदा आन्दोलनमा उत्रन चालकहरूले आह्वान गरेका छन्। असोज १ गतेदेखि स्थानीय प्रशासनलाई चाबी बुझाउन थालेका चालकहरूले पछिल्लो समय चालक अनुमति पत्र संकलन गरेर राज्यलाई बुझाउने चेतावनी दिइरहेका छन्।
कपिलवस्तु जिल्लाका चालक भूपेन्द्रबहादुर विष्ट क्षत्रीले चालकलाई जन्मकैदको व्यवस्था गरिएको ऐन संशोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। ‘जानीजानी कसैले दुर्घटना गर्दैन त्यो आकस्मिक हुने कुरा हो। त्यसैले चालकलाई पन्ध्र वर्ष कैद मान्य हुन सक्दैन,’ उनले भने, ‘गुडिरहेको बसको टायर पड्किएर दुर्घटना हुँदा यात्रुको मृत्यु भए चालकलाई जेल हाल्ने कानुनले हामीलाई समस्यामा पार्छ।’
यो आन्दोलन विषयमा चालकसँग सम्बद्ध संघ–संगठनहरूभित्रै मतैक्य छ। पूर्वनेकपा एमाले निकटका चालकहरू बन्दको बिरोध गरिरहेका छन्।
तुलसीपुर बसपार्कमा भेटिएका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य खगेन्द्रबहादुर वलीले बन्दको बिरोध गरे। ‘चालक आन्दोलनमा उत्रिनु र गाडी नै नचलाउनु यात्रुमाथि ठूलो अपराध हो,’ वलीले भनेर
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका मजदुर संगठनका अध्यक्ष केशव भण्डारीले पनि सोही धारणा व्यक्त गरे। उक्त समितिका कम्युनिस्ट विचार बोक्ने केही चालकहरूले बन्द हुँदाहुँदै बुधबार बिहान दुई वटा बस काठमाडौं र पोखरा लैजान खोजेका थिए। तर, आन्दोलित चालकहरूले असफल पारिदिए।
पोखरातर्फ जाँदै गरेको ना५ख ३६६ र काठमाडौं जान लागेको ना७ख ५४४३ नम्बरको बस दाङको भालुवाङबाट फर्काइएका थिए। बीच बाटोबाटै गाडि फर्काइएपछि यात्रु अलपत्र छन्।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले गाडी चलाउनेलाई अबरोध गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको बताए। ‘मजदुरको नाममा चाबी खोसेको र गाडी चलाउन नदिएको भन्ने गुनासो मलाई प्राप्त भएपछि पक्राउ गर्न भनेको छु,’ उनले भने।
बन्दले बुटबलमा पनि सास्ती
बन्द आह्वानकर्ता को हो भन्ने एकिन नभईकनै सार्वजनिक यातायातका साधन ठप्प हुँदा यात्रुहरूले सास्ती पाएका छन्। मंगलबार माओवादी पूर्व जनमुक्ति पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङले भदौ ३१ गते सार्वजनिक गरेको विज्ञप्तिकै भरमा बन्द भएको सार्वजनिक यातायात बुधबार पनि बिहानैदेखि ठप्प रहेको छ।
सडकमा बन्द आह्वानकर्ता उपस्थित भएपनि बन्द कसले किन गरेको भन्ने थाहा छैन। नेतृत्व बिनाको बन्दले यात्रुलाई सास्ती परेको छ। बुटवलसहित यस क्षेत्रका विभिन्न बस पार्कबाट सार्वजनिक बस छुटेका छैनन्।
कुनै राजनीतिक दल तथा संघ–संगठनले आह्वान गरेका बन्दमा फाट्टफुट्ट सार्वजनिक सवारी चल्थे। बुटबलमा बुधबार एउटा पनि सार्वजनिक गाडी चलेका छैनन्। सार्वजनिक बससँगै अत्यावश्यक वस्तु, दुध, तरकारी बोक्ने मालबाहक साधन चलेका छन्।
यस क्षेत्रका यातायात व्यवसायी संघ–संस्थाले भने आफूहरुलाई यातायातका साधन बन्दको बारेमा कुनै जानकारी नभएको बताएका छन्। पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले चालकहरुले बस सञ्चालन नगर्ने भने पनि किन बन्द गरिएको हो भन्ने जानकारी नभएको बताए।
बन्दको नेतृत्व कसले गरेको हो भन्ने थाहा नभए पनि सरकारले हालै जारी गरेको मुलुकी संहिताले चालकहरुलाई त्रास उत्पन्न भएको उल्लेख गर्दै बन्द गरेको बुझिएको खरेलले बताए। संशोधित सवारी ऐनमा सवारी दुर्घटनामा चालकको लापबाही पाइए कडा कारवाही गर्ने व्यवस्था छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले मजदुरहरुको नाममा बन्द आह्वान गरिए पनि यसमा सवारी धनीहरुको समेत समर्थन रहेको दाबी गरे। ‘सडकमा कोही पनि बन्दकर्ता छैनन्, बसपार्कमा काउण्टर खुल्ला छन् तर टिकट काटिएको छैन, यो चालकहरु र सवारी धनीहरुको मिलेमतोमा गरिएको हुनुसक्छ,’ उनले भने।