प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको त्रिभुवन विश्वविद्यालयको साधारण बैठकले आव २०७५/०७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार बजेट पारित गरेको छ।
११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार सरकारबाट अनुदानको रूपमा माग गर्ने तथा ९ अर्ब ७९ करोड ६ लाख २८ हजार त्रिविको आन्तरिक स्रोतबाट बेहोर्ने प्रस्ताव रजिष्ट्रार डिल्लीराम उप्रेतीले बैठकमा पेश गरेका थिए।
कुलपति ओलीले त्रिविलाई स्रोत साधनको उच्चतम प्रयोग गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए। उपकुलपति तिर्थराज खनियाँले त्रिविले लामो समयदेखि दक्ष जनशक्ति तयार गर्दै आएको बताएका थिए।
बैठकले वनस्पति शास्त्रका प्राध्यापक मोहन पन्थी र शिक्षा शास्त्रका डिन कृष्ण गौतमको नाम कार्यकारी परिषद्का लागि अनुमोदन गरेको त्रिविले जनाएको छ।