वाइसीएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
धाकधम्की तथा शरीर बन्धकको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले श्रेष्ठलाई शुक्रबार नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले सेतोपाटीलाई बताए।
सिन्धुली कमलामाई ५ घर भई हाल राजधानकीको रातोपुल बस्दै आएका रामबहादुर कटुवाललाई श्रेष्ठले ज्यान मार्ने धम्की दिएको उजुरी परेको थियो। घर निर्माणका लागि श्रेष्ठले कटुवाललाई ठेक्का दिएको र घर निर्माणपछि रकम माग्दा धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
श्रेष्ठले यसअघि २०७३ पुस ४ गते गणेशकुमार कुँवरलाई बन्धक बनाए रकम लुटेको समेत खुल्न आएको प्रहरीको भनाइ छ। कुँवरलाई साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार, सुनको औठी, मोवाइल र कुलबहादुर तामाङको नाममा ११ लाखको चेक काट्न लगाएको देखिएको प्रहरीले जानकारी दिएको छ।