सरकारी वकिलको कार्यालयले मुद्दा नचलाएपछि यौन दुराचारको अभियोगमा पक्राउ परेका ६६ वर्षीय स्वीस नागरिक पिटर क्रिष्चियन छुटेका छन्।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत साउन ४ गते पक्राउ गरेर जिल्ला अदालत भक्तपुरमा मुद्दा दायरका लागि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो। तर, प्रमाण नपुगेको भन्दै भक्तपुरको सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नमानेपछि पिटर छुटेका हुन्।
प्रहरीले बाफलका एक बालकसहित उनलाई होटलको कोठाबाट पक्राउ गरेको थियो। भक्तपुर सिद्ध पोखरी बस्दै आएका उनले बालकहरूलाई बोलाइ यौन दुराचार गर्ने गरेको पत्ता लागेपछि पक्राउ परेका थिए।
उद्धार गरिएका बालक १६ वर्षभन्दा बढी उमेर भएको भएको भन्दै मुद्दा चलाउन नमिलेको सरकारी वकिलको कार्यालयले जनाएको छ।
प्रहरीले मिसिलमा उद्धार गरिएको बालकको जन्ममिति २०५७ साल चैत ३ गते उल्लेख गरेको थियो। बौद्ध चुच्चेपाटमा ट्रिगर इन, भक्तपुरको वेलकम हेरिटेज इन नाम गरेको होटलमा उनको लगानी छ। रसुवामा पनि लाङटाङ एजुकेशन प्रोजेक्ट र इडियु कोर स्वीस नेपाल संस्था सञ्चालनमा उनले ल्याएका छन्।
१६ वर्षभन्दा मुनिका नाबालकलाई यौन दुराचार गरे ६ देखि १० वर्ष कैद, अप्राकृतिक मैथुन गरेमा थप एक वर्ष कैदको कानूनी व्यवस्था छ। प्रहरीले भने 'सेटिङ'मा पिटर छुटेको आरोप लगाएको छ।