डिस्कोभरी च्यानलको नक्कली रिपोर्टरको आवरणमा अमेरिका लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं डिल्ली बजारका २७ वर्षिय प्रशन्न खातीलाई पक्राउ गरेको हो।
ब्यूरोका अनुसार खातीले आफू अमेरिकाको डिस्कोभरी च्यानलको रिपोर्टर रहेकाले सजिलै अमेरिका लगिदिने भन्दै विभिन्न ब्याक्तिबाट ५० लाख भन्दा बढी रकम ठगी गरेका छन्।
फेसबुकमार्फत विभिन्न ब्यक्तिलाई साथी बनाउने च्यानलको नक्कली कार्ड देखाएर अमेरिका लैजाने भन्दै विभिन्न ब्यक्तिलाई ठगी गरेको खुलेपछि ब्यूरोले खातीलाई नियन्त्रणमा लिएको हो।
उनले अमेरिकन एम्बेसीका अधिकारीसँग राम्रो चिनजान रहेको भन्दै विभिन्न ब्यक्तिलाई अमेरिकन एम्बेसी अन्तर्गतको कार्यक्रममा ११ करोड नेपाली रुपैया रहेको र सो रकम आफूले निकासा गर्ने भन्दै पीडितलाई आश्वस्त पारेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ।
बैक अफ अमेरिकालगायत विभिन्न संस्थाका नक्कली कागजपत्र देखाएर आफू ठूलो मान्छे रहेको बताउँदै आएको अनुसन्धानबाट खुलेको छ।
उसलाई पक्राउ गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।