घर छाडेर भारतमा पुगी एउटा बालकल्याण समितिमा आश्रय लिइरहेका चार जना नेपाली बालकलाई प्रवासी नेपाली मित्र मञ्च दिल्लीले स्वदेश फिर्ता गराएको छ ।
भारत उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहमा राखिएका ती बालकलाई मञ्चका पदाधिकारीले नेपाल ल्याएर शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जिम्मा लगाएका हुन्।
बालकहरूलाई भारतका विभिन्न स्थानबाट उद्धार गरी राजकीय बालगृहमा राखिएको थियो ।
प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले दुई जनाबाहेक अरु दुई बालकले आफ्नो घर ठेगाना बताउन नसक्ने बताए । उनले बालकहरूलाई आआफ्नो परिवारसम्म पु¥याउन सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।
आफ्नो घरठेगाना बताउने दुई जना बालकमध्ये विजय तामाङले काठमाडौं कोटेश्वरस्थित सुन्दर बजार घर भएका बताएका छन् । राजेश कुमारले आफ्नो घर कुसुमघाट रहेको बताएको प्रहरीले जनाएको छ ।
दुई जना बालक सन्तोष र सुमित कुमारले भने घर ठेगाना बताउन नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
प्रहरी उपरीक्षक ज्ञवालीले बालकहरूको जिम्मा लिँदै घर ठेगाना बताएका बालकलाई घर पु¥याइने र घर पत्ता नलागेकालाई सरकारी आश्रयस्थलहरूमा आश्रय दिई पठनपाठन गराउने बताए ।
उनीहरूलाई आफ्नो घर पु¥याउने पहल गर्न भारत सरकारले दिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गरेपछि दूतावासले प्रवासी नेपाली मित्र मञ्चलाई जानकारी गराएपछि मञ्चले स्वदेश फर्काएको हो ।
मित्र मञ्चका अनुसार १० देखि १४ वर्ष उमेरका बालकमध्ये एक जना घरबाट भागेर भारत पुगेका थिए भने अरु तीन जना भने भारतकै विभिन्न स्थानमा भेटिएपछि त्यहाँका सामाजिक संघसंस्थाहरूले उद्धार गरी राजकीय बाल कल्याण समितिमा पु¥याएका थिए ।