काठमाडौंस्थित बागदरबार जोगाउन सम्पदा अभियन्ताले धर्ना दिएका छन्। रेट्रोफिटिङको विकल्प हुँदाहुँदै दरबार भत्काउन लागिएको भन्दै प्रवेशद्धारमै शान्तिपुर्ण विरोध जनाएका हुन्।
काठमाडौं महानगरपालिकाको कार्यालय रहेको बागदरबारमा शुक्रबार उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्लेकार्डमा ‘पुरातत्व रक्षक कि भक्षक?, शितल निवास, गद्धी बैठकमा रेट्रोफिटिङ गर्न मिल्ने बागदरबार किन नमिल्ने?, बागदरबार हाम्रो राष्ट्रिय सम्पदा हो, बागदरबार बचाउ’ लगायत लेखिएको थियो।
२०७४ सालको भाद्र महिनामा नै महानगरपालिकाले भत्काउन लागेकाे बागदरबारलाई पुरातत्व विभागले ‘जग बलियो रहेको र रेट्रोफिटिङ गर्न सकिने’ भनेर नभत्काउन आदेश दिएको थियो। यही जेठमा अर्को पत्र लेखेर पुरातत्वले पुननिर्माण गर्न महानगरलाई निर्देशन दिएको छ।
अमरसिंह थापाले बागदरबार निर्माण गरेका हुन्। त्यतिबेला यसको आकार सानो थियो। भीमसेन थापा शक्तिमा आएपश्चात यसलाई १ सय २० रोपनी क्षेत्रफलमा फैलाए। माथवरसिंह थापाको शासनकालमा दरबारको प्रवेशद्वारमा पाटेबाघ पाल्न थालियो। त्यही भएर ‘बाघदरबार’ भन्न थालेको मानिन्छ। बाघदरबारबाटै अपभ्रंश भएर बागदरबार भन्न थालियो।
९० सालको भुइँचालोमा जीर्ण भएको दरबारलाई जुद्धशमशेरको पालामा ‘निओ क्लासिकल’ शैलीमा पुनर्निर्माण गरिएको थियो।
बागदरबार भत्काउनैपर्ने हो ?