जुम्लामा बिगत २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले आफू काठमाडौं नजाने बताएका छन्।
बिहिबार बिहान सम्बोधन गर्दै डा केसीले यदि राज्यलाई मेरो स्वास्थ्य प्रति चिन्ता लागेको भए पहिले माग पुरा गर्न चुनौती दिए।
‘माग पुरा गर म अनसन तोड्छु,’ केसीले भने,‘यो स्थान मेरो लागि पवित्र स्थान हो चन्दननाथ बाबाको काखमा बसेर सत्याग्रह गरिरहेको छु, म जबसम्म माग पुरा हुन्न यही जुम्लालमा अनसन जारी राख्नेछु। मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन। र गुण्डागर्दी चल्दैन।’
आफ्नो लडाई माफिया डन र अधिनायकवाद विरूद्ध रहेको भन्दै उनले माफिया डन र अधिनायकवादको हार हुने र जनताको जित हुने दाबी गरे।
यसअघि बुधबार राति सत्तारूढ दल नेकपाले अनसनरत डा केसीको थप उपचारका लागि काठमाडौं ल्याउने निर्णय गरेको थियो।
केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बैठक बसेको हो। उक्त बैठकले केसीलाई हेलिकप्टरमा काठमाडौं ल्याउनु उचित हुने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए।
‘डा.केसीलाई सिसियुमा राख्नुपर्छ भन्ने रिपोर्ट आयो’, श्रेष्ठले भने, ‘सरकार र हाम्रो पार्टीको पहिलो कर्तव्य डा.केसीको जीवन रक्षा गर्नु हो। चार पाँच दिनदेखि गम्भीरताका साथ वार्ता कमिटी बनाएर काम गरे पनि सहमति भएन। मेडिकल बुलेटिनपछि हामी सिरियस भयौं।’
उनले वार्ता र सहमतिका लागि केही दिन लाग्ने भएकाले केसीलाई चिकित्सकको सुझाव अनुसारको अस्पतालमा राख्ने समझदारी जुटेको बताए।
‘चिकित्सकको सुझाव अनुसार सिसियु भएको अस्पतालमा राख्नुपर्यो भन्ने निर्णय भयो’, श्रेष्ठले भने, ‘यद्यपी उहाँको अनसन र विचार बाँकी नै छन्। त्यसमा कुनै पनि प्रकारको आग्रह कसैले नराखी छलफल होस् भन्ने हामी चाहान्छौं। उहाँलाई काठमाडौं ल्याउने कुरा भएको हो।’
डा.केसी चिकित्सा शिक्षा अध्यादेश अनुरूप सरकारले चिकित्सा शिक्षा विधेयक नल्याएको विरोधमा २० दिनदेखि अनसनमा छन्।
केसीले उपत्यकामा दश वर्ष मेडिकल कलेज खोल्न दिन नहुने र एक विश्वविद्यालले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने धारण राख्दै आएका छन्। केसीको मागका आधारमा अध्यादेशमा यी व्यवस्था गरिएका थिए। तर सरकारले संसदमा विधेयक लैजाने क्रममा यी प्रावधान हटाएको थियो।