विगत १९ दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीले माग पुरा नभएसम्म सत्याग्रह नत्याग्ने बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै डा केसीले भने,‘मेरो जबसम्म माग पुरा हुन्न तबसम्म सत्याग्रह जारी रहन्छ।’
माग पुरा नभएसम्म सत्याग्रह जारी रहने भन्दै डा केसीले माफिया र डनहरू पराजित हुने बताएक छन्। ‘माफिया र डनहरूको होइन जनताको जित हुन्छ,’ मेरो लडाईँ माफिया र डनहरूविरूद्धको हो त्यसैले जनताको जित हुन्छ।’
यसैबीच डा. केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले वार्ताका नाममा झारा टार्ने काम गरेको बताएका छन्।
‘नेपाल सरकारले हामीसँग प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको तथा आवश्यक म्यान्डेट नै नदिइ कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘फलस्वरुप हाम्रा मागको अन्तर्वस्तुमा गएर सार्थक वार्ता शुरु हुन सकेको छैन । यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा हामीले उठाएका एजेण्डाहरुप्रति उदासीन रहेको देखिन्छ ।’
यस्तो अवस्थामा मागहरु सम्बोधन गर्न सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता नगर्ने विज्ञप्तिमा भनिएको छ।
‘त्यसैले वार्तालाई तार्किक निश्कर्षमा पुर्याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं । त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।