ललितपुर प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
दुई थान पेस्तोल र ५६ राउण्ड गोलीसहित प्रहरीले ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यसका साथै, उनीहरूको साथबाट धारिलो हतियार तरबार २ थान, खुकुरी २ थान र चक्कु ६ थान प्रहरीले बरामद गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सोमबार रोशन लिम्बु र रामचन्द्र अधिकारीलाई पक्राउ गरेको हो। उनीहरूलाई नखिपोटबाट नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए।
यसअघि आइतबार पनि प्रहरीले ललितपुरबाट हतियारको कारोबार गर्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो।
रामेछापका कृष्णबहादुर जोगी, आशुराम मुक्तान र हेमलाल चौधरीलाई नियन्त्रणमा लिइएको थियो।
हिजोको घटनाको अनुसन्धान गर्ने क्रममा थप दुई जना आज पक्राउ परेका हुन्।
घटनाको थप विवरण आउन बाँकी छ।