ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ।
महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो।
नगरसभाले पारित गरेको निर्णय सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बेरुजु फर्छ्यौटका लागि महानगरपालिकालाई नगरसभाले निर्देशन दिएको पनि स्पष्ट पारे।
नगरसभाद्वारा पारित महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालू आर्थिक वर्षमा पूँजीगततर्फ ९८ लाख र चालूतर्फ ४९ लाख २० हजार विभिन्न शीर्षकमा रकमान्तर पनि गरिएको पनि उल्लेख गरिएको छ।
महानगरपालिकाको चालू प्रशासनिक खर्च एक अर्ब ६ करोड ५० लाख अनुमान गरिएको छ।
व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता ३० करोड र पूँजीगत कार्यक्रम खर्च दुई अर्ब ४० करोड आठ लाख ३७ हजार अनुमान गरिएको छ।
वैदेशिक अनुदानमार्फत् ८२ करोड १४ लाख ५० हजार र सडक बोर्डमार्फत् दुई करोड खर्च हुने अनुमान गरिएको छ।
आगामी आर्थिक वर्षको प्रस्तावित आयमा ९२ करोड ७८ लाख (२० प्रतिशत) संघीय सरकार र प्रदेश सरकारबाट अनुमानित आय विनियोजन गरिएको छ।
आन्तरिक स्रोतबाट एक अर्ब ७७ करोड ५४ लाख र वैदेशिक अनुदानतर्फ ८२ करोड १४ लाख ५० हजार अनुमान गरिएको छ।
महानगरपालिकाले चालू आर्थिक वर्षको चैतभन्दा अगाडि असुल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि नेपाल सरकारसँग माग गरेको छ। स्थानीय कर नेपाल सरकारले लिन नपाउने व्यवस्था अनुसार चैत अगाडि असुल गरिएको घर बहाल कर तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको महानगरपालिकाका मयेर महर्जनले जानकारी दिए।
महानगरपालिकाले वडालाई विकासको केन्द्र विन्दु बनाउने अभियान पनि सञ्चालन गर्ने योजना अघि सारेको छ। महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर, एक उद्यम’ को अवधारणा पनि अघि सारिएको छ।
त्यसैगरी महानगरपालिका क्षेत्रभित्रका भूकम्प प्रभावितहरूको लाभग्राहीको नाम सूचीमा समावेश भएका व्यक्तिलाई ३ हजार वर्ग फुटसम्मको क्षेत्रफलको नक्सापास दस्तुर मिनाहा गरिएको पनि मेयर महर्जनले बताए।
मापदण्डविपरीत निर्माण भएका भवनहरूलाई पनि करको दायरामा ल्याउने योजना अघि सारिएको छ।
महानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि पानी बोरिङको वैज्ञानिक अध्ययन गर्ने निर्णय पनि गरेको छ ।