महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जडीबुटीबाट जगातीसम्म ‘लेन मेन्टेन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्धेश्यले सो कार्यक्रममा सञ्चालन गर्न लागिएको ट्राफिक प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिएका हुन्।
उनका अनुसार एक लेनमा सार्वजनिक यातायात मात्र चलाइने छ भने अर्को लेनमा निजी सरकारी कुटनीतिक नियोगका सवारीसधान चलाइने छ।
निश्चित स्थान बाहेक अन्य ठाउँमा सवारी साधन रोक्न पाइने छैन।
आइतबार मात्र महाशाखाले आकाशे पुल र जेब्राक्रस भएको ठाउँमा जथाभावी बाटो काट्नेलाई समातेर प्रशिक्षण दिएरमात्र छोड्ने नयाँ नियम ल्याएको छ।
पैदल यात्रुलाई सचेतना दिन पहिलो चरणमा यस्तो व्यवस्था लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसअघि गत वर्ष जेठ १६ गतेदेखि ट्राफिकले जथाभावी बाटो काट्ने यात्रुलाई २ सय रूपैया जरिवाना तिराउने र ३ घन्टा प्रहरी नियन्त्रणमा बस्नुपर्ने नियम ल्याएको थियो।
१५ दिनपछि त्यो नियम हटाइएको थियो।