विगत १५ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा आमरण अनसनमा बसिरहेका डाक्टर गोविन्द केसीको मागमा समर्थन र उनको जीवन रक्षाको माग गर्दै शनिबार १२ बजे माइतीघर मण्डलामा हुने प्रदर्शनमा सर्वोच्च अदालतका दुई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशिला कार्की सडकमा उत्रने भएका छन्।
श्रेष्ठ पहिलोपटक सडकमा उत्रन लागेका हुन्।
माइतीघरमा आज पूर्वप्रधानन्यायाधीशसहित पूर्वउपकुलपति, नेता, पेशाकर्मीदेखि सर्वसाधारण जम्मा हुन लागेका छन्।
प्रदर्शनमा उनीहरूसहित त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, नेताहरू गगन थापा, रवीन्द्र मिश्र, उज्ज्वल थापा, मानवअधिकारकर्मी चरण प्रसार्इं, कृष्ण पहाडीलगायत पनि सहभागी हुनेछन्।
डाक्टर, नर्स, कानून व्यवसायी सम्मिलित विभिन्न १३ संघसंस्थाले समेत आजको प्रदर्शनमा साथ दिने भएका छन्।
डा. अभिषेक सिंहले शनिबारको प्रदर्शनमा विभिन्न पेशाकर्मी तथा सर्वसाधारणसहित हजारौंको सहभागिता रहने बताएका छन् ।