कान्तिपुर पब्लिकेसन्सले कान्तिपुरका प्रधान–सम्पादक सुधीर शर्मा र काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा दिएको बुधबार औपचारिक घोषणा गरे पनि नयाँ प्रधान–सम्पादक नियुक्त गरेको छैन।
कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले दुवै पत्रिकाका वरिष्ठ पत्रकारसँग बुधबार बैठक गर्दै सम्पादकद्वयको राजीनामा घोषणा गरेका हुन्।
शर्मा र उपाध्यायको दस वर्ष लामो सम्पादकीय नेतृत्व निम्ति धन्यवाद दिँदै नयाँ नेतृत्व छनौट नभएसम्म उनीहरूले नै काम सम्हाल्ने सिरोहियाले बताए।
बैठकमा सहभागी कान्तिपुर पत्रकारका अनुसार सिरोहियाले सम्पादकद्वयको राजीनामासँग जोडिएको कारणबारे प्रस्टीकरण दिएका थिए। ‘हामीले व्यवस्थापन हेर्ने गरी नयाँ मान्छे ल्याएका हौं,’ सिरोहियाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कान्तिपुर पत्रकारले भने, ‘व्यवस्थापनमा अरू मुलुकका मान्छे ल्याउने चलन पहिलेदेखि नै थियो। यो त्यसैको निरन्तरता हो।’
कान्तिपुर पब्लिकेसन्सको व्यवस्थापनमा विगतमा एसपी सिंह रहेको जानकारी दिँदै उनले भने, 'त्यही क्रममा नयाँ कर्मचारी आउन लागेको हो। बाँकी सबै हल्ला हो।’
सम्पादकद्वयको राजीनामासँगै कान्तिपुरमा विदेशी लगानीकर्ता भित्रिएको हल्ला थियो।
व्यवस्थापनमा आउन लागेको भनिएका नयाँ व्यक्तिको पद भने सिरोहियाले खुलाएनन्। नयाँ सम्पादकीय नेतृत्वबारे पनि जानकारी दिएनन्।
कान्तिपुरका प्रधान–सम्पादक शर्मा र काठमाडौं पोस्टका उपाध्यायले मंगलबार राजीनामा घोषणा गरेका थिए।