पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसईईको नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप लगाएका छन्।
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै पूर्व शिक्षा सचिव नेपालले एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्याउने गरी सत्य–तथ्यका बारेमा अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।
उनले भने,‘भर्खंरैमात्रै प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरू सुनिन थालेका छन्, यसका बारेमा सरकार गम्भीर बन्नुपर्छ, प्राविधिक तथा अन्य कुन–कुन पक्षले गल्ती गरेको छ, त्यो छानबिन हुनुपर्यो, अर्को वर्षमा यस्तो कमजोरी हुन नदिनको लागि चनाखो बन्नुपर्यो।’
साक्षात्कारमा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन्।
उनले भने,‘प्रत्येक दिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिनमा फरक रिजल्ट देखाएको छ, नतिजा प्रकाशितमा त यति विघ्न समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ? हामीले सहज अनुमान लगाउन सक्छौं, विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग, परीक्षा बोर्ड कोही पनि गम्भीर बनेका छैनन्, ग्रेड सिस्टमका पनि त आफ्नै प्रकारका नियमहरू छन्, हाम्रो देशमा अंकमा तयार पारिने रिजल्टलाई अक्षरमा ढालेर ग्रेडिङ सिस्टम ल्यायौं भनिदैँछ, सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारलाई आग्रह गर्दछु।’
त्यस्तै उनले यसपालि त निजी र सामुदायिक विद्यालयको रिजल्ट समेत एउटैमा प्रकाशित गरेकोमा गुनासो पोखे । उनले भने,‘कुन संस्थागत विद्यालयमा पढेको हो, कुन कहाँ पढेको हो भन्ने नै थाहा छैन।’