शिक्षक सेवा आयोगले केही विषयमा दश महिने तालिम नलिएका उम्मेद्वारहरूले पनि माध्यमिक तह तृतीय श्रेणीको रिक्त शिक्षक दरबन्दीका लागि दरखास्त दिन सक्ने स्पष्ट पारेको छ।
आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि खुला विज्ञापन नै गरेको हो। आयोगले निकालेको विज्ञापनमा उम्मेद्वारमा हुनुपर्ने न्यूनतम योग्यतामा शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको वा शिक्षा शास्त्रमा कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने उल्लेख छ। तर आयोगले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन पठाउँदै विज्ञान, गणित, लेखा, अंग्रेजी, कम्प्युटर, सिभिल इञ्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयमा स्नातक गरी स्थायी अध्यापन अनुमति प्राप्त गरेको व्यक्ति माध्यमिक तहको सम्बन्धित विषयको मात्र उम्मेद्वार हुन पाउने उल्लेख छ।
यस्तै, कार्यरत स्थायी शिक्षक र प्राथमिक तहको लागि अपाङ्गता भएको व्यक्तिले पनि दश महिने तालिम नलिए पनि दरखास्त दिन पाउने आयोगका नायब सुब्बा सौरभ श्रेष्ठले सेतोपाटीले जानकारी दिए।
नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, शिक्षालगायत २९ विषयमा परीक्षामार्फत् स्थायी शिक्षक राख्ने तयारीसहित आयोगले विज्ञापन निकालेको हो।
शिक्षाशास्त्र संकाय नपढेका तर विज्ञान र अंग्रेजी विषयमा स्नातक पढेकालाई पनि आयोगले यसअघि शिक्षक अनुमतिपत्र दिएको थियो।