परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयमा सार्वजनिक गर्ने भनेता पनि ‘सफ्टवेयरको समस्या’ ले गर्दा ढिलो हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी एसईईको नतिजा सार्वजनिक गर्ने बताएको थियो तर ‘सफ्टवेयरको समस्या’ देखिएकोले नतिजा प्रकाशन केही ढिला हुने देखिएको हो।
बोर्डका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ‘सफ्टवेयरको समस्या’ आएको र पेपर प्रिन्ट गरेको सबैमा हस्ताक्षर गर्न समय लाग्ने भएकोले नतिजा सार्वजनिक हुन केही ढिला हुने बताए।
नतिजा हेर्नको लागि कार्यालय वरिपरि भीड लागेको छ।
गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी थिए ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ। त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।
सबै तस्बिर : निशा भण्डारी