किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलो पटक दुई नविन कोर्षहरु– एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट र एमबिए इन एग्री विजनेश संचालन गर्ने भएको छ । अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा आउँदो साउन दोस्रो सातादेखि कक्षा संचालन हुने यी दुबै कार्यक्रम नेपाली परिवेश सुहाउँदो गरी नेपालमै विकास भइ त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेका छन्।
नेपालको उच्च शिक्षालाई एक फरक उचाइमा पुर्याउन र समयसन्दर्भ पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई विषय छनोटको विकल्प दिइ शिक्षालाई ब्यक्ति, समाज तथा राष्ट्र विकासमा एक शसक्त माध्यम बनाउने गरी शैक्षिक कार्यक्रमहरु संचालन हुन लागेका हुन्।
नोबेल पुरष्कार विजेता मोहम्मद यूनुसद्धारा प्रतिवादित एवं प्रवद्र्धत सामाजिक उद्यमशिलताको धारणासँग मिल्दोजुल्दो गैर नाफामुलक क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बढेको मागअनुसार नेपालमा पठन पाठन सुरू हुन लागेको हो।
विशेष गरी नेपालमा प्रचुर सम्भावनाको बाबजुत कृषिक्षेत्र अझै पनि परम्परागत तथा जीविकामा आधारित रहेकाले यसलाई आधुनिक, एक प्रमुख औधोगीक क्षेत्र र अर्थतन्त्रको मूल आधार बनाउन आवश्यक जनशक्ति र उद्यमी तयार गर्न यी कोर्षहरु ल्याउन लागिएको किंग्सले जनाएको छ।
सरकारी, गैरसरकारी, गैरनाफामूलक, सामाजिक उद्यमशिलता तथा विकासे क्षेत्रमा कुनै न कुनै रुपमा संलग्न भइसकेका वा हुन चाहने अथवा यी क्षेत्रहरुका ब्यवस्थापन एवं नेतृत्व तहमा रहेर वा अन्य अभ्यासहरुद्धारा योगदान गर्न चाहनेहरुका लागि एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट संचालन गर्न लागिएको हो।
‘पछिल्ला दिनहरुमा दातृ निकाय निर्देशित वा परनिर्भर मानसिकतालाई चुनौती दिइ बदलिँँदो सामाजिक, राजनीतिक तथा आर्थिक परिवेशमा दशकौंदेखि परिक्षित एवं सफल साबित श्रोतको अधिकतमता तथा बृहत सदुपयोग, वित्त ब्यवस्थापन, मार्केटिङ्ग, जोखिम ब्यवस्थापन, नेतृत्व विकास, सामाजिक उद्यमशिलता, समान विकास तथा दिगो बृद्धि लगायत ब्यापार ब्यवस्थापन क्षेत्रका सिद्धान्तहरुलाई गैरनाफमूखी संस्थाहरुले अंगिकार गरि स्ववलम्बन तथा आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्,’ कलेजद्धारा संप्रेषित विज्ञप्तिमा भनिएको छ।
यसैगरी, कलेजले वन विज्ञान, बनस्पती विज्ञान, वातावरण तथा खनिज लगायत अध्ययन गरेका विद्यार्थी, कृषि क्षेत्रलाई आधार बनाइ उद्यमशिलता गर्न चाहने ब्यक्ति तथा सो क्षेत्रमा स्टर्टआपको रुपमा काम गरिरहेको र आफ्नो ब्यापारलाई बृद्धिको दिशातर्फ लैजान चाहिरहेका ब्यक्तिहरुको लागि एमबिए इन एग्री विजनेश प्रदान गर्न लागिएको जनाएको छ।
‘दशकौंदेखि नेपाल कृषिप्रदान राष्ट्र हो भनी विद्यालय तहदेखि नै पढ्ने तर पढाइ सकेपछि कृषि क्षेत्रमा आउन लजाउने नयाँ पुस्तासमक्ष कृषि उद्यमशिलता, ब्यापार, नाफा र ब्यवस्थापनको एक प्रमुख क्षेत्र हो भनेर प्रष्ट्याउन खाँचो रहेकोले कलेजले यस कोर्षलाई ल्याएको हो,’ कलेजको प्रधानाध्यापक नरोत्तम अर्यालले बताए।
अर्यालका अनुसार नाम सुन्दा प्राविधिक जस्तो लागे पनि ब्यापार र ब्यवस्थापनको क्षेत्रमा रूचि राख्ने जोसुकै विद्यार्थीले पनि यि कोर्षहरुमा राम्रो परिणाम ल्याउन सक्छन् ।
पढाइ समयसापेक्ष हुनुपर्छ र यसले विकास र बृद्धिको नयाँ एवं उदाउँदो क्षेत्रहरुका लागि दक्ष जनशक्ति तथा नेतृत्व जन्माउन सक्नुपर्दछ भन्ने मान्यतास्वरुप यी कोर्शहरु सञ्चालनमा ल्याइएको उनले बताए।