दाङमा बुहारीले आफ्नै सासू आमाको हत्या गरेकी छन्। घोराही उपमहानगरपालिका वडा नं. ८ सेवार निवासी ३२ बर्षीया लालसरी बुढाले आफ्नी ५६ वर्षीया सासू दिलकुमारी बुढाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
घटना बुधबार बिहानको भए पनि बिहीबार मात्रै प्रहरीले जानकारी पाएको र आरोपितलाई पक्राउ गरि सोधपुछ गर्दा लालसरीले हत्या स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार बुधबार बिहान ६ बजेतिर बुहारी लालसरीको कुखुरा सम्मुख घर भएकी सासू दिलकुमारीको घरमा प्रवेश गरेर विठ्याँई गरेपछि झगडा भएको थियो। सासू दिलकुमारीले गाली गर्दै तेरो कुखुरा आएर घरभित्र विठ्याँई गर्यो, भन्दै गालि गरेको र त्यसपछि बुहारी लालसरी गएर सासूको घाँटी अठ्याएर हत्या गरेको भन्ने खुल्न आएको दाङका निमित्त प्रहरी प्रमुख घर्तीले सेतोपाटीलाई बताए।
सासू बुहारी छुट्टिएर भिन्दै बस्दै आएका भए पनि उनीहरुको घर सम्मुख थियो। प्रहरीका अनुसार सासू बुहारीबीच लामो समयदेखि बालेचाल पनि थिएन।
लालसरीका पति राजविराजमा बस्दै आएका छन्। घरमा कोही नभएको मौका छोपी रिसिवी साँध्न बुहारीले सासूको हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ। सासू हत्या गर्ने बुहारी विरुद्ध कर्तब्य ज्यान सम्बन्धि मुद्दा चलाएर कानुनी उपचार थालिएको डिएसपी घर्तीले जानकारी दिए।