छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेकी गोरखा फुजेलकी ६२ वर्षीया गंगामाया अधिकारीको शरीर स्लाइन पनि लिन नसक्ने गरि नाजुक बन्दै गएको वीर अस्पतालले जनाएको छ।
उनले पछिल्लोपटक अनसन सुरु गरेको आज २० दिन पुग्यो।
वीर अस्पातलका निर्देशक भुपेन्द्र कुमार बस्नेतले शरीरले स्लाइनसमेत लिन नसक्ने गरी गंगामायाको स्वास्थ्य स्थिति नाजुक बनेको जानकारी दिए।
‘उहाँले खाना खान पनि मान्नुहुन्न उपचार गराउन पनि मान्नु भएको छैन, हामीले जबरजस्ती खुवाउन मिल्दैन,’ उनले भने, ‘उहाँको स्वास्थ्य निकै नाजुक बन्दै गएको छ। हिजो एकपटक स्लाइनका लागि मान्नु भएको थियो त्यो बेला उहाँको शरीरले नै सलाइन लिन सकेन। त्यसपछि फेरे उहाँले कुनै उपचारका लागि स्वीकृति जनाउनु भएको छैन।’
बस्नेतका अनुसार उनको स्वास्थ्यबारे सरकारलाई नियमितरुमा जानकारी गराइएको छ।
‘हामीले दिनदिनै स्वास्थ्य मन्त्रालयलाई गंगामायाको रिपोर्ट पठाउने गरेका छौं,’ उनले सेतोपाटीसँग भने।
१४ वर्षयता छोराका हत्यारालाई कारबाहीको माग राख्दै उनी सत्याग्रहमा होमिएकी छन्। गंगामायाले पछिल्लोपटक जेठ १५ गते गणतन्त्र दिवसको दिन देखि आमरण अनसन सुरू गरेकी हुन्।
छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन गरिरहेकै बेला तीनवर्ष अघि उनका पति नन्दप्रसादको ज्यान गएको थियो। गंगामायाले छोराका हत्यारालाई कारबाही नगरेसम्म पतिको दाहसंस्कार नगर्ने अडान लिएपछी नन्दप्रसादको शव अझैसम्म शिक्षण अस्पतालमा राखिएको छ।
तत्कालीन विद्रोही माओवादी पक्षबाट अपहरणमा परी २०६१ साल जेठ २४ गते गंगामायाका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो।