अरूण तेस्रोको सुरूङभित्र फसेका ४ जनाको ३९ घन्टापछि जिवितै उद्दार गरिएको छ।
संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको जलविद्युत आयोजनाको सुरूङभित्र फसेका २ नेपाली र २ भारतीयको आइतबार बिहान जिवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी श्याम सारूले जानकारी दिए।
उनका अनुसार सुरूङ मार्गको प्रवेशद्वारमा पहिरो आएपछि शुक्रबार रातिदेखि उनीहरू फसेका थिए। आइतबार बिहान उनीहरूलाई उद्दार गरिएको हो।
उद्दार गरिएकामध्ये जुम्लाको चन्दननाथका प्रेम परियारको ढाडमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। कालिकोटमा प्रदीप शाही र भारतीय नागरिक बुधन मुण्डा र नन्द किशोर सकुशल छन्।
'उनीहरूले खानेकुरा लिएर गएका रै’छन्, थुनिएपछि त्यही खाना खाए। माथिबाट रसाएको पानी पनि खान पाएकाले बाँचेछन्,' डिएसपी सारूले भने, 'पहिरो हटाउँदै जाँदा भित्रबाट हामीलाई बचाउ भनेर कराए। अनि प्वाल बनाएर डोरीबाट उनीहरूलाई बाहिर निकाल्यौं।'
डेढ सय मिटरमा माथिबाट खसेको पहिरो हटाउन भने अझै केही दिन लाग्ने उनले जानकारी दिए।