मलेसियाका लागि भिसा प्रकृया मिलाइदिने काम गर्ने संस्था भिएलएन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालत काठमाडौंबाट १० लाख धरौटीमा छुटेलगत्तै पक्राउ परेका छन्।
न्यायाधीश अमृत बहादुर बस्नेतको इजलासले मागेको १० लाख धरौटी बुझाएर छुटेलगत्तै प्रहरीले उनलाई फेरि पक्राउ गरेको हो।
उनी विरुद्ध ललितपुर जिल्ला अदालतमा अर्को ठगी मुद्दा दायर भएको छ। त्यही मुद्दाका लागि अदालतमा उपस्थित गराउन उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी नरेन्द्र चन्दले सेतोपाटीलाई जानकारी दिए।
वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ३ अर्ब ठगी गरेको अभियोगमा काठमाडौं सरकारी वकिल कार्यालयले सोमबार श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दर्ता गराएको थियो।
प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो।
त्यसै क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।