एनआईसी एसिया बैंकले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रवन्धकका रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ।
निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसियाका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।
बैंकले १ हजार रुपैयाँ अंकित दरको १८ लाख ३० हजार कित्ता अर्थात १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निश्कासन गर्दैछ।
सोमध्ये ८० प्रतिशत अर्थात १ अर्ब ४६ करोड ४० लाख रुपैयाँको व्यक्तिगत र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँको संस्थागतका लागि निश्कासन हुने बैंकले जनाएको छ।
प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्रमा लगानीकर्तालाई उत्कृष्ट प्रतिफलका साथै दीर्घकालीन लगानीको अवसर हुने बैंकको विश्वास छ।
यसअघि बैंकले ९ प्रतिशत वार्षिक व्याज भएको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निश्कासन गरेको थियो। सो ऋणपत्र नेप्सेमा सूचीकृत भइसकेको छ।