गीतकार संघ नेपालले अमेरिकामा बस्दै आएकी गीतकार राखी गौचनलाई ‘डायस्पोरा गीतकार सम्मान २०७४’ प्रदान गर्ने निणर्य गरेको छ । परदेशमा बसेर गीत लेखन मार्फत योगदान पुर्याउनेलाई हरेक वर्ष प्रदान गरिने पुरस्कारको राशी ११ हजार रुपैयाँ छ ।
पुरस्कारका खबर सुनेर गीतकार गौचन हौसिएकी छिन् । क्यालिफोनिर्यामा बसेर साहित्य साधना गर्दै आएकी राखीको ०७४ सालमा एक साथ आधुनिक गीतका दुइटा एल्बम सार्बजनिक भएको थियो । उनको ‘जानी नजानी’ एल्बममा बानिका प्रधानको स्वरमा ६ वटा गीत समाबेश भएका छन् भने सुरज कुमार थापाको स्वरमा सजिएका ५ वटा गीत छन् ‘परिभाषा‘मा ।
दर्जनौ गीत लेखिसकेकी गौचनका केही गीत रेकर्ड भैसकेका छन् । सन् २०१६ मा सपनाश्रीले गाएको ‘म मातिएको बेला’ उनको पहिलो रेर्कडेड गीत हो । त्यसमा यम बरालको संगीत छ ।
स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन र कविता लेखनमा रुचि राख्ने राखी गीत लेखनमा गम्भिर भएर लागेको दुई वर्ष भयो । जीवनका भोगाईहरुलाई गीत र कवितामा ढालेर पाठक, दर्शक र श्रोतामाझ पस्किरहने उनको चाहना छ ।