घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

घटनास्थल। तस्बिरः भगवती पाण्डे/सेतोपाटी


रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए।

प्रहरीले आक्रमणको घटनामा धवलकै छोराको संग्लनता हुनसक्ने आशंकामा अनुसन्धान सुरू गरेको छ। गोली प्रहार भएको बुधबार दिउँसो फोटो माग्ने निहुँमा छोरा सन्दीप धवल एक अपरिचित युवकसँगै मृतक बाबुले काम गर्ने ठाउँमा आएको र साँझ आक्रमण हुनुले निजकै संलग्नता अनुमान गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए।

निज सन्दीप मृतक धवलका जेठी श्रीमतीका एकमात्र छोरा हुन्। धवलले कान्छी श्रीमती विवाह गरेपछि जेठी श्रीमती भारतको सिद्धार्थनगर नौतनहवा नजिकै आफन्तकोमा र छोरा सन्दीप भारतको गोरखपुर नजिकै पिपिगञ्ज भन्ने ठाउँमा मावलीको घरमा बस्दै आएका थिए । बुधबार मणिग्राममा बाबुसँगको भेटपछि फर्किएर भारतस्थित मामाघर पुगे पनि हाल सम्पर्कविहीन रहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए।रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.