भूकम्पपीडित ‘देउता’ पिलपिल रोए

भूकम्पपीडितहरुको अस्थायी टहरा। खोकनामा यस्ता अस्थायी टहराहरुको थुप्रै वस्ती अझै छन् जसमा साढे दुई सयभन्दा बढी परिवार अहिले पनि बसोबास गर्दै आएको त्यहाँका वडाअध्यक्ष बताउँछन्।


नेपाली बोल्न नजान्ने ती वृद्ध खोकनाकै ‘देउता’ हुन् भनेर चिनाइएको थियो। म ‘देउता’ लाई एकोहोरो हेरिरहेको थिएँ। उनी नेवारी भाषामै आफ्ना पीडा दोभाषेलाई सुनाइरहेका थिए। त्यत्तिकैमा पिलपिल आँसु बगाएर रुन पो थाले!

के भयो?

‘जीवनमा यस्तो दुःख पाइएला भनेर सोचेको थिइनँ,’ दोभाषे मित्रले उनका कुरा अर्थ्याए, ‘भुइँचालोले यस्तो दुर्दशा गरिदियो।’

७५ वर्षीय माइलाकाजी महर्जनका आँखाबाट आँसु झरिरहेकै थिए। हेर्नेलाई सास्ती हुनेगरी।

तीन वर्षअघि आएको भूकम्पले मुलुकको अधिकांश भूभागका संरचना ध्वस्त पारिदियो। दुर्गम भेगमा अहिले पनि पीडितहरुको बसोबास प्रबन्ध नमिलेका कुराहरु आइरहेका छन्।

तर, यो त काठमाडौं उपत्यका भित्रैको दृश्य हो। त्यसमाथि पनि ललितपुर महानगरपालिकाको एउटा वडा। सुन्दा अचम्म लाग्ला महानगरपालिकाको यस वडाका साढे दुई सयभन्दा बढी परिवार अहिले पनि अस्थायी टहरामा बसोबास गरिरहेका छन्।

सबैभन्दा पहिले त काठमाडौं उपत्यका भित्रै पनि यस्तो दयालाग्दो भूकम्पपीडित बस्ती छ भन्ने मलाई थाहा थिएन। केही दिनअघि अर्कै रिपोर्टिङका क्रममा खोकना पुग्दा त्यो फराकिलो टेन्ट र टहराको झुपडपट्टी देखेर जिज्ञासु बनेँ।

‘यहाँका बासिन्दाले भुइँचालो आएकै बेला जेजस्तो टेन्ट र टहरामा आश्रय लिएका थिए आज पनि त्यसैमा बसिरहेका छन्,’ स्थानीय असोज महर्जनले भने, ‘यीमध्ये थुप्रैले सरकारबाट आजसम्म एक रुपैयाँ पनि सहयोग पाएका छैनन्।’

म फेरि दोहोर्याएर त्यो बस्ती पुग्दा तिनै देउता भेटिए। हातखुट्टा चल्न छाडेको ६८ वर्षीय श्रीमतीका साथ घाम तापेर बसिरहेका।

‘घरमै बसिरहेको बेला हल्लाएको हल्लायै गरेपछि दौडादौड खुला ठाउँमा आएको थिएँ,’ माइलाकाजीले तीन वर्षअघिको भयानक दिन सम्झे, ‘फेरि अशक्त श्रीमतीको याद आयो र हल्लिँदै गरेको घरमा गएर उनलाई डोकोमा राख्दै सकिनसकि भाग्न थालेँ।’

त्यसपछि उनीहरु गाउँभन्दा ओह्रालोमा पर्ने गोठ पुगेछन्।

‘त्यही गोठमा एक महिनासम्म बसेँ,’ माइलाकाजी भन्छन्, ‘त्यसपछि यता अस्थायी टहरासहित बसोबासको व्यवस्था गरेको सुनेपछि फेरि उक्लिएँ।’

उनीहरु बसेको ठाउँ खोकनाको पश्चिम किनार पर्छ। २७ वटा टहरा अटाएर झुरुप्प परेको झुपडपट्टीजस्तो। यीमध्ये अधिकांश टहरा जस्ता र बाँसले बनेका छन् भने उतिबेलै विदेशी सहयोगमा आएका टेन्टहरुमा पनि मानिस बसिरहेकै छन्। भुइँचालोपछि गाउँलेहरु मिलेर यो अस्थायी क्याम्पजस्तो बनाएका थिए।

टहरामा बस्दै आएको रत्नदेवी महर्जनको परिवार जसले सरकारबाट भत्किएको घर बनाउन पहिलो किस्ताको रकम पनि पाएको छैन।‘सुरुमा आउँदा केही दिनलाई मात्र होलाजस्तो लागेको थियो,’ माइलाकाजीले भने, ‘बस्दै गर्दा अब त घरमा पाइला नराखेरै यहीँबाट संसार त्यागिएलाजस्तो भइसक्यो।’

खोकनाको परम्परा अनुसार रुद्रायणी मन्दिरसँग सम्बन्धित रहेर ४६ जना देउता कायम गरिएका हुन्छन्। देउताको काम हो जात्रा र पर्वहरुमा बाजा बजाउने र नृत्य गर्ने। त्यसबाहेक पुजाआजामा पनि यी देउताहरुको महत्वपूर्ण भूमिका हुन्छ।

भुइँचालो आएपछि यहाँका त्यस्ता देउतामध्ये १७ जनाको अहिलेसम्म पनि उठिबास अवस्था छ। माइलाकाजीको छेउमै ७६ वर्षीय मानभक्त महर्जन थिए जसलाई गाउँकै अर्का देउताका रुपमा सबैले चिनाए। उनी जात्राहरुमा पंगा बाजा बजाउँदा रहेछन्।

उनको पनि उही कथा रहेछ। घर ध्वस्तै भएर लडेको। अहिलेसम्म भग्नावशेष पनि सफा गर्न नसकेको। यो टहरामै बास।

यी देउताहरु परम्परा अनुसार सम्बन्धित परिवारकै जेठा छोरा छानिएर आउँछन्। माइलाकाजीलाई पनि तन्नेरी उमेरमा देउता बनेको सम्झँदा रमाइलो लाग्छ। उनले खिया लागेका फ्रेमबाट निकालेर पुराना तस्बिर पनि देखाए।

‘कत्रो मानसम्मानका साथ देउता बनेको थिएँ,’ उनी भन्छन्, ‘पहिले आनन्दले बस्दै आएको यही गाउँमा अहिले कस्तो बिजोग भयो।’

माइलाकाजी र उनकी श्रीमती।

परम्परागत गाउँ खोकनामा सबै घरहरु थोरै जग्गामा गुजुप्प बनेका छन्। तीनैमध्ये झण्डै डेढ आनामा बनेको माइलाकाजीको घर पनि थियो। भुइँचालोबेला त्यो घर ध्वस्तै भयो। भत्केको घरको भग्नावशेष अहिलेसम्म पनि नपन्छ्याइएको उनी बताउँछन्।

‘छिमेकमै रत्नमानको भत्केको घरको धूलो हटाउनै ९० हजार रुपैयाँ त ज्याला मात्र लागेको थियो,’ उनले भने, ‘कताबाट ल्याउने त्यत्रो पैसा?’

माइलाकाजीका अनुसार यो अस्थायी टहरामा आउनु अगावै विरामी रहेकी श्रीमती अब हलचल पनि गर्न सक्दिनन्। उता दिनप्रतिदिन मक्किँदै गएका टहराका छाना र भित्ताहरुले जीन्दगी झनै कष्टकर बनाउँदै लगेको छ।

‘मलाई पनि समस्या भएर अस्पतालमा जँचाउन गएको थिएँ,’ उनले सुनाए, ‘डाक्टरले चिसोका कारण समस्या भएको भनेर औषधि दिएका छन्।’

माइलाकाजीका अनुसार टहराभित्र वर्षातको पानी मात्र होइन हिउँदका शीत पनि विहानपख ओछ्यानै भिज्नेगरी पर्छ।

‘बुढाबुढी र केटाकेटीलाई धेरै गाह्रो छ,’ उनले भने, ‘तर कसले सुन्ने?’

अस्थायी टहरा बनाइएकै बेला योस सिंगो वस्तीका निम्ति छ वटा शौचालय बनाइएको छ। सबैजनाले अहिले पनि त्यही प्रयोग गर्दै आएका छन्। विजुली भने उतिबेलैदेखि उपलब्ध छ। पानीका निम्ति तीन वर्षअघि नै सहयोगमा आएको ट्यांकीसम्म परदेखि खानेपानीको पाइप ल्याएर जोडिएको छ।

‘यो ट्यांकीमा पनि बेलाबेलामा पानी आउँदैन,’ छेउमै बसेकी एक महिलाले भनिन्, ‘त्यस्तो बेला घरघरमा गएर पानी मागेर ल्याउनु पर्छ।’

माइलाकाजीको दम्पत्तिका एक जना २५ वर्षे छोरा छन्। लजालु स्वभावका रहेछन्, हामी बसुन्जेल टहरा भित्रबाट निस्केनन्। बाबुआमालाई पकाएर ख्वाउनेदेखि लिएर सबै काम गर्नुपर्ने भएकाले उनी कतै कमाउन पनि जान नसकेको माइलाकाजीले सुनाए।

भूकम्प आएपछि सबैभन्दा मुश्किल माइलाकाजीलाई कागजपत्रकै परेको थियो।

टहरामा बस्दै आएको रत्नदेवी महर्जनको परिवार जसले सरकारबाट भत्किएको घर बनाउन पहिलो किस्ताको रकम पनि पाएको छैन।

टहरामा बस्दै आएको रत्नदेवी महर्जनको परिवार जसले सरकारबाट भत्किएको घर बनाउन पहिलो किस्ताको रकम पनि पाएको छैन।

‘यो गाउँभर कसैको पनि जग्गाको आजसम्म लालपूर्जा नै बनेको छैन,’ उनले भने, ‘त्यस्तो अवस्थामा सरकारले दिने सहयोग लिन पनि अप्ठ्यारो पर्यो।’

तै जसोतसो पछिल्लो समय बिना लालपूर्जा पनि पहिलो किस्ताको रकम सरकारले दियो।

‘त्यो पहिलो किस्तामा आएको ५० हजार रुपैयाँले केही काम नहुने भएकाले बैंकमै राखेका छौं,’ माइलाकाजीले भने, ‘त्यसपछि दोश्रो किस्ता त आजसम्म एउटै गाउँलेले पाएका छैनौं।’

कम्तीमा माइलाकाजीले त पहिलो किस्ता पनि पाए। खोकनामा अधिकांश परिवारले अहिलेसम्म त्यही पहिलो किस्ता पनि पाएका रहेनछन्।

तिनैमध्येकी एक हुन् रत्नदेवी महर्जन। बुढी भएकी सासु र श्रीमानका साथमा उनी पनि यहीँको एक टहरामा बस्दै आएकी छिन्। उनको एउटै मात्र छोराको परिवार पनि यो बस्तीमा नअटेपछि तलको अर्को अस्थायी झुपडपट्टीमा बुहारी र नातिसहित बस्दै आएको रत्नदेवीले सुनाइन्।

छोरा घरको रंगरोगन र श्रीमान् माली काम गर्छन्। दुवै कामका निम्ति बाहिर निस्केका थिए।

‘रुद्रायणी मन्दिरकै मुनि सात फिट चौडाइ र १५ फिट लम्बाइको घर थियो,’ उनले भनिन्, ‘त्यो भत्किएको घर जस्ताको त्यस्तै अवस्थामा अहिले पनि छ।’

कमाएको पैसाले खानै ठिक्क भएपछि अहिलेसम्म भत्केको घरमा केही गर्न नसकिएको उनले सुनाइन्।

‘भूकम्प पीडितहरुलाई पुनःनिर्माण प्राधिकरणले अनुदान दिन्छ भन्ने सुनेपछि निवेदन दिएका थियौं,’ उनी भन्छिन्, ‘तर आजसम्म हामीले पहिलो किस्ताको रकम पनि पाएका छैनौं।’

वडा कार्यालयमा सोध्न जाँदा जहिले पनि ‘आउँछ आउँछ’ मात्रै भनेर फर्काउने गरेको उनले गुनासो गरिन्।

रत्नदेवीका अनुसार गाउँका धेरै मानिसले प्राधिकरणको पहिलो किस्तामा आएको ५० हजार रुपैयाँ पाइसक्दा पनि उनीहरुले लामो समयसम्म ठ्याम्मै पैसा नपाएपछि फेरि वडासमितिमा गएर गुनासो दर्ता गरेका छन्। तर, अहिलेसम्म कसैलाई वडासमितिले बोलाएको छैन।

यी टहरामा बसेका अधिकांशले खोकनामा आफूहरुको सानो टुक्रा जग्गा पनि रहेको बताए। ती सबै जग्गाहरु आनाका हिसाबमा थिए। सम्पत्तिका नाममा त्यही जग्गा रहेको र अंशबण्डा पनि नभएकाले बेच्न नसकेको रहेको उनीहरुले सुनाए।

वडाअध्यक्ष रवीन्द्र महर्जनका अनुसार खोकनाका केही आफ्नैखाले जटिलताले गर्दा टहरामा बसोबास गरिरहेका परिवारलाई उनीहरुको घरसम्म ल्याउन सम्भव भइरहेको छैन। भूकम्पबेला खोकनामा करिब छ सयवटा अस्थायी टहरा बनेका थिए। तीमध्ये आधाजसो परिवारको हालसम्म बन्दोबस्त मिलिसकेको उनी बताउँछन्। आधा परिवार भने अहिले पनि टहरामै छन्।

‘यहाँका ८ सय ३७ वटा पीडित परिवारमध्ये ४ सय २० वटाले पुनः निर्माण प्राधिकरणको पहिलो किस्ताको रकम बुझिसकेका छन्,’ उनले भने, ‘बाँकीले त त्यही पहिलो किस्ताको रकम पनि पाएका छैनन्।’

किन?

‘सबैभन्दा पहिले त गाउँभर कसैको लालपूर्जा छैन। बिना कागजपत्र केवल छिमेकी सर्जमिनका भरमा सरकारी रकम बुझ्ने अवस्था तयार पार्न लामो समय लाग्यो,’ उनी भन्छन्, ‘त्यसबाहेक अंशबण्डा नभएको घरका हकमा त्यही पहिलो किस्ताको रकम पनि उपलब्ध गराउन मुश्किल भएको छ।’

खोकनाभरिबाट परेका निवेदनमध्ये एक सय ८३ वटामा अंशबण्डा नभइसकेका सगोल समस्याले नै पहिलो किस्ताधरि पाउन नसकेको उनले बताए।

भूकम्पपीडितहरुको अस्थायी टहरा। खोकनामा यस्ता अस्थायी टहराहरुको थुप्रै वस्ती अझै छन् जसमा साढे दुई सयभन्दा बढी परिवार अहिले पनि बसोबास गर्दै आएको त्यहाँका वडाअध्यक्ष बताउँछन्।यस्तो अवस्थामा आफू वडाअध्यक्ष चुनिएर आउनेबित्तिकै भत्किएका घरको भग्नावशेष सफा गर्न जोड दिएको उनी सुनाउँछन्।

उनका अनुसार हरेक घरको दुई हजार रुपैयाँ शुल्क कायम गरेर वडा समितिले भग्नावशेष सफा गर्दै आएको छ। यसरी अहिलेसम्म यहाँका एक सय ५० वटा भत्केका घरको भग्नावशेष सफा गरिसकिएको छ।

त्यसैगरी अर्को डेढ सयभन्दा बढीको भग्नावशेष हटाउन वडासमितिमा निवेदन आइसकेको उनी बताउँछन्। त्यो सकेपछि पनि अर्को दुईदेखि तीन सय घरका भग्नावशेष सफा गर्न बाँकी नै रहन्छ।

उता टहरामा रहेका पीडित भने वडासमितिले त्यस्तो सेवा दिने भए पनि भग्नावशेष ओसार्ने ट्रकको शुल्क चाहिँ आफूहरुले नै बेहोर्नु परेको गुनासो गर्छन्।

‘यहाँ धेरै किसिमका समस्या भए पनि अहिले ६० वटाभन्दा धेरै नयाँ घर बनिरहेको देख्नुहुन्छ,’ वडाअध्यक्षले भने, ‘त्यसमा कुनै पनि सरकारको सहयोगले होइन बरु थोरबहुत वडासमितिको सहयोगले बनेको हो।’

उनका अनुसार पहिलो किस्तामा आएको पचास हजार रुपैयाँले त फोहर सफा गरेर जग राख्न पनि मिल्दैन। यस्तो अवस्थामा नक्सालगायत धेरै कुरामा वडा समितिले यी घर बनाउनेलाई सहयोग दिदैं आएको छ।

‘टहरामा बस्ने अधिकांश परिवार ठ्याम्मै आर्थिक श्रोत नभएकाहरु छन्,’ उनले भने, ‘त्यस्ता कतिपय परिवारले पहिलो किस्तामा पाएको पचास हजारबाट पनि केही गर्न नसकेपछि दोश्रो किस्ता पनि नपाउने स्थिति छ।’

वडाअध्यक्षका अनुसार खोकनाको केसमा सरकारले नै नीतिगत रुपले केही निर्णयहरु लिइदिनुपर्ने अवस्था छ। त्यो पूरा नहुन्जेल टहरबासी देउता माइलाकाजीको आँशु पुछ्न मुश्किल छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.