म्याग्दीको दुर्गम भेगबाट वैदेशिक रोजगारीमा सन्तान पठाएको एउटै परिवारले एक दशक भित्रै चारमध्ये तीन तन्नेरी छोरा गुमाएको छ। तीस वर्षभन्दा कम उमेरमै तीन जनै दाजुभाइ कमाउन गएका ठाउँमा सुत्यासुत्यै मृत अवस्थामा फेला परेका हुन्।
मलेसियाबाट २८ वर्षीय धर्मलाल रोकाको शव बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि रोका परिवारको यो वेदना सार्वजनिक भएको हो। ७९ वर्षीय धनबहादुर रोका र उनकी ७६ वर्षीया पत्नीको धर्मलाल कान्छो छोरा थिए।
यस अगावै दुई जना दाइ गुमाइसकेका साँहिला थमबहादुर रोका कान्छा भाइको शव बुझ्नका निम्ति बुधबार दिउँसो विमानस्थल पुगेका थिए।
‘आज लाश ल्याउँछ भनेपछि रूवाबासी गरिरहेका घरपरिवारलाई गाउँलेको जिम्मा छाडेर हिजो हिडेँ,’ थमबहादुरले सेतोपाटीसँग भने, ‘सदरमुकाम बेनीबाट रात्री बस चढेर बिहान मात्र आइपुगेको हुँ।’
बेनीबाट पश्चिम दरबाङहुँदै अर्को दुई घन्टा उत्तरतर्फको यात्रा गरेपछि थमबहादुरको गाउँ रूम पुगिन्छ।
भाइको लाश बुझ्नका निम्ति केही गाउँलेका साथमा आएका थमबहादुर अनिँदो देखिन्थे। लाशलाई थाइ एयरलाइन्समा कार्गो गरेर पठाइएको थियो। विमान केही समय ढिला ओर्लने जानकारी पाएपछि उनी सेतोपाटीसँग कुराकानी गर्न तयार भए।
‘दस दिनअघि मात्रै म पनि मलेसियाबाट फर्केको हुँ,’ उनले भने, ‘हिँड्ने बेलामा दिनभर कुराकानी गरेर छुट्टिएको सकुशल भाइ अचानक यता आएपछि बितेको खबर पत्याउन पनि गाह्रो भइरहेको छ।’
गाउँमै कृषिमा आधारित रोका परिवारका छोरा १२ वर्ष पहिले वैदेशिक रोजगारीमा जान थालेका हुन्।
‘खेतीबाट दुई चार महिनालाई मात्र खानपुग्ने जमिन थियो,’ उनले भने, ‘त्यसबाहेक गाउँ र वरपर आरा काट्ने, गारो लगाइदिने र ढुंगामाटो बोक्ने गरेर जसोतसो चल्दै आएको थियो।’
यसै क्रममा करिब बाह्र वर्षअघि सबैभन्दा पहिले परिवारका माहिँला छोरा भक्तबहादुरले वैदेशिक रोजगारीका निम्ति खुट्टा उचाले। चार कक्षासम्म मात्र पढेका उनी त्यतिबेला २१ वर्षका थिए। विवाहित र एउटा छोरासमेत भइसकेका उनी गाउँमै मजदुरी गरेर परिवार हेरिरहेका थिए।
‘परिवारकै निम्ति राम्रो हुन्छ भनेर एउटा कम्पनीमा काम गर्न माहिँलो दाइ कतार जानुभएको थियो,’ थमबहादुरले भने, ‘गोदामको एक्लै हेरचाह गर्नुपर्ने कुरुवाको काम हो भनेर सुनेका थियौं।’
यसरी गएका दाइ पुगेको बीस बाइस महिना नपुग्दै अचानक सुत्यासुत्यै मृत्युभएको खबर आइपुगेको थियो।
‘कुनै विरामी वा रोगब्याधि केहि पनि थिएन,’ उनले भने, ‘कम्पनीमै छतमा गएर सुतेको बेलामा सुत्यासुत्यै बितेको भनेर खबर आएको थियो।’
करिब दस वर्ष पहिले माहिँलो दाइ गुमाउँदा आफू सानै रहेको थमबहादुर सुनाउँछन्।
‘जेठाबाका छोराहरु र केहि अन्य गाउँले पनि उतै थिए,’ उनले भने, ‘माहिला दाइको मृत्युको खबर उनीहरुले नै सुनाए।’
यसरी वैदेशिक रोजगारीमा गएको पहिलो सदस्य कतारमा मृत्यु भएपछि त्यसको एक साताभित्रै लाश आइपुगेको थमबहादुर सम्झन्छन्।
‘त्यतिबेला लाश बुझ्नका निम्ति बुवा आमासमेत काठमाडौं आउनुभएको थियो,’ उनले भने, ‘यतै काठमाडौंमै अन्त्येष्टी गरेका थियौं।’
माहिला दाइको छोरा यतिबेला १६ वर्ष पुगेको र कमाउनका निम्ति भारतको पञ्जाबतिर पुगेको उनले बताए।
‘माहिँली भाउजु चाहिँ घरमै हुनुहुन्छ,’ थमबहादुरले भने, ‘छोरा नआएको धेरै भयो।’ परिवारमा माहिलो दाइको मृत्युलगत्तै जेठो दाइ तमबहादुर रोका मलेसिया पुगेका रहेछन्। दस वर्षअघि उनी त्यता जाँदा उनको उमेर ३० वर्ष थियो।
‘जेठो दाइ मलेसिया जानुअघि भारतको सिलोंगतिर गएर केही समय कोइलाखानीमा काम गरेर आउनुभएको थियो,’ थमबहादुरले भने, ‘त्योभन्दा राम्रो कमाइ हुन्छ भनेर फर्केको केहि समयमै मलेसिया जानुभयो।’
जेठो दाइ पनि मलेसिया गएको सात महिनामै उनको समेत मृत्युको खबर परिवारले पायो।
‘मलेशियाको मोटर कम्पनीमा काम गर्ने भनेर गएका थिए,’ उनले भने, ‘काम गर्दागर्दै ड्युटीमै अर्को एकजना साथीसहित एकै ठाउँमा सुतेका थिए।’
कतिसम्म भने छेउमै सुतेका साथीले पनि त्यतिबेला मृत्युको जानकारी पाएका थिएनन्। उठिसकेपछि चिया पकाएर साथीलाई उठाउन जाँदा शरिरमा हलचल बन्द भइसकेको भेटेका रहेछन्।
दाइलाई रोग केही थियो कि?
थमबहादुर भने, ‘ हल्का ग्यास्टिक छ भनेर सुनाउनुहुन्थ्यो। अरु कुनै रोग भएको त हामीले संकेत पनि पाएका थिएनौं।’
यसरी आफू सानै छँदा दुई जना दाइहरू सुत्यासुत्यै बितेको समाचार थमबहादुरले पाएका थिए। एकजना करिब २३ वर्षको उमेरमा र अर्को ३० वर्षको उमेरमा। जबकि दुवैलाई कुनै रोग थिएन।
‘जेठो दाइको लाश पनि मृत्युको तीन दिनपछि नै नेपाल पठाइदिएको थियो,’ उनले भने, ‘तर, त्यस दिनपछि कम्पनीले आजसम्म परिवारसँग कुनै सम्पर्क वा व्यवहार केहि गरेको छैन।’
उनका अनुसार दुइ वटै दाइहरुको मृत्युपछि लाश बाहेक परिवारले एक रुपियाँ पनि कहिँ कसैबाट पाएको थिएन।
तीस वर्षको उमेरमा मलेसिया कमाउन गएका जेठो दाइको पनि श्रीमती र दुइवटा छोरा घरैमा छन्।
‘भाउजु घरैमा हुनुहुन्छ,’ थमबहादुरले भने, ‘अहिले १६ वर्ष पुगेको जेठो छोरा दुइ वर्षदेखि पोखरामा बसेर पढिरहेको छ।’
जेजस्तो भएता पनि पढ्छु भनेर आफ्नै अठोटले जेठो दाइको छोराले पढाइमै आफूलाई केन्द्रित गरेको थमबहादुरले बताए। उनका अनुसार जेठो दाइका कान्छो छोरा चाहिँ बेनीमा बसेर छ कक्षा पढ्दैछ।
‘घरको कुरा विस्तारमा त म पनि जान्दिनँ,’ थमबहादुरले भने, ‘म पनि विदेशबाट भर्खर आएको र आउनेबित्तिकै भाइको मृत्युको खबरले केहि सोच्नै दिएको छैन।’
तीन वर्ष चार महिना मलेसियामा काम गरेपछि थमबहादुर आफै पनि गत चैत पाँच गतेको दिन यता आएका रहेछन्।
गाउँमा यतिबेला बुवाआमा, दुइवटा विधवा भाउजु, आफ्नी श्रीमती र दुइ छोरीलाई रोइरहेकै अवस्थामा छाडेर आएको उनले बताए।
दुइजना दाइको मृत्यु भएको करिब पाँच वर्ष पछि थमबहादुर र उनको कान्छा भाइ (मृतक) धर्मलाल पनि कमाउनका निम्ति मलेसिया लागे।
‘केहि उपाय थिएन,’ उनले भने, ‘के गर्ने?’
सुरुमा कान्छा भाइ उडेका रहेछन् र त्यसको सात आठ महिनापछि थमबहादुर।
‘कम्पनी छाडेर अवैध बसोबास धेरै लम्ब्याउन मन नलागेपछि म फर्र्किएको थिएँ,’ उनले भने, ‘चार वर्ष तीन महिनादेखि मलेसियामै रहेको भाइ चाहिँ जसोतसो पासपोर्टको बैधानिकता जोगाएरै काम गरिरहेका थिए।’
तीन वर्ष बगैँचामा काम गर्नका निम्ति भनेर थमबहादुर उता पुगेका रहेछन्।
‘त्यो कम्पनीमा दुइ वर्ष मात्र काम गरेर छाडेँ,’ उनले भने, ‘त्यसपछि सेक्युरिटीको काममा लागेता पनि बैधानिक बसोबास नहुने भएकाले थप एक वर्ष चार महिना बसेपछि चाहिँ म भर्खर फर्केको थिएँ।’
आफू कामगर्ने स्थानभन्दा एक घन्टा परको दुरीमा राजधानी क्वालालम्पुर बस्दैआएका भाइ चाहिँ बैधानिक बसोबास मिलाउन सफल रहेको उनी सुनाउँछन्। गएकै कम्पनी पनि नछाडेर उनले एउटा सेक्युरिटी कम्पनीमा पनि काम गर्न थालेका थिए।
‘हाकिमलाई मिलाएर बगैँचाको कामगर्न गएको कम्पनी पनि छाडेको थिएन,’ थमबहादुर भन्छन्, ‘त्यसबाहेक १५ महिनादेखि सेक्युरिटी कम्पनीमा पनि दोश्रो काम गरिरहेको थियो।’
त्यो कम्पनीमा उनले रातभर सुरक्षाकर्मीका रुपमा काम गर्नुपथ्र्यो। त्यहीँ एउटा कुर्सीमा सुत्यासुत्यै अवस्थामा उनी मृत भेटिएका थिए। दिउँसोको सिफ्टमा कामगर्ने साथी राजु गुरुङले थमबहादुरका भाइलाई विहान अबेरसम्म पनि नदेखेपछि खोज्दै जाँदा कुर्सीमै हलचल नगरि बसिरहेको अवस्थामा फेलापारेका थिए।
‘म नेपाल फर्कने भएपछि दुइ साताअघि आफू कार्यरत गेन्टिङ हाइल्याण्डबाट एक घन्टा परको क्वालालम्पुर पुगेको थिएँ,’ उनले भने, ‘त्यहीँ भाइसँग भेट भएको थियो।’
थमबहादुरको प्लेन चैत ५ गतेको थियो। चैत ३ गते उनले क्वालालम्पुरमा दिनभर भाइसँग बसेर कुरा गरेका थिए।
‘त्यतिबेला भाइ अलिक दुब्लाएको र अनुहारको रंग पनि पहिलेजस्तो रातोपिरो नभएर अलिक पहेँलो जस्तो देखेको थिएँ,’ थमबहादुरले भने, ‘पछिल्लोपटक चार महिना पहिले भेट्दाभन्दा उ एकदमै फेरिएको थियो।’
त्यो सेक्युरिटीको काम रातभरि गर्नुपर्ने भएकोले त्यस्तो देखिएको होला भन्ठानेछन् थमबहादुरले।
भाइसँगै सोध्दा चाहिँ ‘मलाइ केहि भएको छैन। सन्चो नै छ’ भनेर जवाफ दिएका थिए।
आफ्नो भाइ जाँडरक्सी वा अन्य लागूऔषधको लतमा कहिल्यै नरहेको पनि उनले बताए।
‘बरु चार पाँच महिना पहिले एकपटक उ मलेसियाकै ठगहरुको चंगुलमा परेको थियो,’ थमबहादुरले भने, ‘उसलाई क्यानाडा लगिदिन्छु भनेर ती ठगले चार–पाँच लाख रुपैयाँ ठगीदिएका थिए।’
थमबहादुरका अनुसार उनका भाइलाई ती ठगहरुले बैंककसम्म पुर्याएर अलपत्र पारिदिएका थिए।
‘ऊ फेरि क्वालालम्पुर फर्किएको थियो,’ उनले थपे, ‘भोकभोकै पैदल बाटो हिँडेर आएको सुनाउँथ्यो।’
भाइलाई यसरी ठगले चंगुलमा पारिरहँदा आफू मलेसियामै रहेको थमबहादुर बताउँछन्।
‘त्यस्तोमा पैसा नफँसा भन्दा फरक पर्दैन भनेको थियो,’ उनले थपे, ‘टुरिस्ट भिसामा जाने भएकोले फस्दैन भनेको थियो।’
अझ राम्रो कमाइ हुने ठाउँमा पुगेपछि आफूहरुको दिन फेरिने भाइले सुनाउनेगरेका थिए। तर, बैंकक पुगेपछि ठगहरु फरार भइदिए। त्यसपछि भाइको मनोबल अलिक खस्किएको थमबहादुर सुनाउँछन्।
‘अस्ति क्वालालम्पुरमा छुट्टिने बेला तपाइ जानुस् म पनि अब आउँछु भनेको थियो,’ थमबहादुरले भने, ‘दशैंमा आउने र यसपाला आएको बेला अब बिहे पनि गर्ने योजना सुनाएको थियो।’
थमबहादुर चैतको पाँच गते नेपाल आइपुगे र त्यसको छ दिनमै ११ गते पत्याउनै मुश्किल हुनेगरि तिनै भाइको मृत्युको खबर उनले सुन्नुपर्यो।
‘मलेसियामै रहेका ज्वाइँ दिनेश रोकाले सबैभन्दा पहिले मृत्युको पुष्टि नहुँदै अशुभ संकेतको खबर दिनुभएको थियो,’ उनले भने, ‘त्यसैगरि गाउँका अन्य साथीहरुको फोन पनि मेरो मोबाइलमा बज्न सुरुभयो।’
सुरुमा त सबैले ‘नराम्रो समाचार छ’ र ‘फिक्स भइसकेको छैन’ जस्ता कुराहरु गरेछन्। त्यतिबेलै मलेसियन प्रहरीहरु पनि घटनास्थलमा पुगेको जानकारी थमबहादुरले पाए।
‘म मलेसिया बसेको मान्छे,’ उनले भने, ‘प्रहरी त्यसै जाँदैन भन्ने थाहा भएकाले भाइ रहेन भन्ने चिसो परिसकेको थियो।’
यो खबर सुन्नेबित्तिकै घरमा सबैको सात्तोपुत्लो उडिसकेकै थियो। एकैछिनमा त मृत्युकै खबर पुष्टि भयो।
मृतक भाइ धर्मलालले ठगको चंगुलमा त्यत्रो पैसा गुमाएता पनि यसबीच घरमा करिब चार पाँच लाख रुपैयाँ पठाएको थमबहादुर सम्झन्छन्।
‘त्यो पैसा बुवाआमाले नै गाउँमा घर ब्यवहारमै खर्च गर्नुभएको थियो,’ उनले भने, ‘यसपाला आएपछि उसको इच्छा अनुसारै विहे गरिदिने भनेर सबैजना तयार हुनुहुन्थ्यो।’
केहि वर्षदेखि नै प्यारालाइसिस भएका बुवा प्रायः बेहोस अवस्थामै रहनेगरेको र दिसा पिसाबसमेत औषधि खाएको बेला मात्र गर्नसक्ने स्थितीमा रहेको थमबहादुरले सुनाए।
‘आमाको त सबैभन्दा ठूलो बेहाल छ,’ उनले भने, ‘कान्छो छोरा मरेको खबर सुन्नेबित्तिकै दाउरा उठाएर टाउकोमा हिर्काउँदा टाउको फुटेर चिन्ताजनक अवस्था छ।’
भाइको पार्थिव शरीर बुधबार बेलुकी नै म्याग्दीतिर लैजाने जानकारी थमबहादुरले दिए।
सबै तस्बिरहरू र भिडियो - नारायण महर्जन/सेतोपाटीhttps://www.youtube.com/watch?v=XTUsrVRkVsw&feature=youtu.be