छोरालाई हिमाल चढ्न दिन्नँ, डाक्टर–इन्जिनियर बनाउँछु


हिमालका चुचुरा चुम्नु शेर्पा जातिको परम्परा जस्तै हो। जसरी अन्य समुदायमा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सर्छ त्यसैगरी हिमाल चढ्ने कला, सिप र जाँगर शेर्पाको एक पुस्ताबाट अर्को पुस्तामा सरिरहन्छ।

त्यसैले त विश्वकै अग्लो शिखर सगरमाथामा थुप्रै कीर्तिमान शेर्पाहरूका नाममा छन्।

कीर्तिमानी आरोहीमध्येका एक हुन्, कामिरिता शेर्पा। समुन्द्र सतहबाट ३ हजार ८ मिटर उचाइमा रहेको सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिता यो वर्ष नयाँ किर्तिमान रच्ने तयारीमा लागेका छन्।

अहिले उनी संसारका ती तीन आरोहीमा पर्छन् जसले २१ पटक सगरमाथाको चुचुरो चुमेका छन्। बाँकी दुई जनामध्ये एक कामिरिताकै गाउँका आप्पा शेर्पा हुन् भने अर्का खुम्जुङका फुर्वा टासी शेर्पा।

यो वर्ष उनी फेरि सगरमाथा चढे भने कामिरिता २२ पटक सगरमाथा चढ्ने संसारका एकमात्र व्यक्ति हुनेछन्।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको यही वसन्तमा फेरि चुचुरोमा पुग्ने लक्ष्य छ।

चार दिनपछि (चैत १८ गते) उनी काठमाडौंबाट लुक्ला जाने उनको योजना छ।

कामिरिता कसैलाई जित्नभन्दा पनि आफ्नो रहर पूरा गर्न सगरमाथा चढ्न लागेको बताउँछन्।

‘कसैको नाममा रहेको रेकर्ड तोड्न वा जित्नलाई आरोहण गर्न लागेको होइन’उनले सेतोपाटीसँग भने,‘चढ्दै जाँदा कीर्तिमान बने त्यो संयोगमात्र हुने छ।’

कतिपय शेर्पा आरोहीले उमेर बढ्दै जाँदा परिवारको दबाबमा सगरमाथा चढ्न छाड्छन्। तर ४७ वर्षीय कामिरिता भने बुवाकै हौसलाले सगरमाथा चढ्न लागेका हुन्।

‘आप्पा दाइले पनि २१ पटकमै छोड्यो म पनि अघिल्लो वर्ष छोड्न चाहन्थे तर बुवाले नै अझै तिमी चढ्न सक्छौं किन छाड्ने भनेपछि फेरि जान लागेको छु’ कामिरिताले भने।

बुवाकै सल्लाहमा उनी विदेशीहरुको आरोहण गाइड भएका थिए। १८ वर्षअघि चुचुरोमा पुग्दा उनलाई जितेसरहको अनुभुति भएको थियो।

अहिले त हिमाल चढ्ने आदत बनिसक्यो। २५ पटक सगरमाथा चुचुरोमा पुग्ने उनको लक्ष्य छ।

‘त्यतिबेला मलाई बाँकी आरोहणको कुनै योजना थिएन, चढ्दै जाँदा यहाँसम्म पुगियो,’ उनले भने।

विदेशी आरोहण दलका सदस्यहरुलाई सगरमाथामा क्लामिङ शेर्पाको रूपमा काम गर्दै आएका उनले एकपटक तिब्बत तर्फबाट आरोहण गरेका छन्।

हिमाल चढ्न आफैंमा कठिन काम भए पनि प्रविधिमा आएको परिवर्तनले पहिलेभन्दा सहज भएको उनको अनुभव छ।

‘हिमाल चढ्न पहिलेभन्दा प्राविधिक रूपमा सहज भएको छ, पहिलेको तुलनामा क्लाइम्बिङ गियर हलुका भएका छन्। मौसमको पूर्वानुमान हुने गरेको छ’ शेर्पाले भने।

क्लाइम्बिङ गियरको तौल धेरै घटेको उनको अनुभव छ। पहिलोपटक सगरमाथा चढ्दा जुत्तामात्र १० किलोको लगाएका उनी अहिले सबैमा ५० प्रतिशत तौल कम भएको बताउँछन्।

सगरमाथा चढ्दा पहिले काठको भ¥याङ हुन्थ्यो अहिले आल्मुनियमको हुन्छ।

प्रविधिले सहज बनाए पनि सगरमाथामा आरोहणको क्रममा ज्यान जाने  क्रम राेकिएकाे छैन तर  पहिलेको तुलनामा धेरै कम भएको उनको  भनाइ छ।
आरोहण अगाडिको तालिम, प्रशिक्षणजस्ता कुराले जोखिम न्यूनीकरण गरेको उनको बुझाइ छ।

सगरमाथा आरोहण गर्दा जतिसुकै वर्षको कीर्तिमान बने पनि ती तोडिनेमा उनी विश्वस्त छन्।

‘कलिलै उमेरका शेर्पाहरु १७/१८ पटक चुचुरोमा पुगिसके। वर्षको दुईपटक पनि चढ्छन, त्यसैले २५/३० पटक सामन्य हुन्छ।’

बुवाको सिको गर्दै हिमाल चढ्न सिकेका कामिरिता छोराहरूमा भने यो परम्परा सार्ने पक्षमा छैनन्। आफूमात्र नभई आफ्नो पुस्ता कसैले पनि हिमाल आरोहण र ट्रेकिङमा जान उनी नदिने बताउँछन्।

‘मेरा छोरालाई पनि यही क्षेत्रमा लगाउँदिनँ। हामीले पढ्न पाएनौं, गुजारा चलाउन पनि हिमाल उक्लि नै पथ्र्यो।अब मसँग पैसा छ, छोरालाई म डाक्टर–इन्जिनियर पढाउँछु,’ कामिरिताले भने।


जोखिमअनुसारको सम्मान र सुरक्षा नभएकोले कसैले पनि यो क्षेत्रमा नलागाउने उनको भनाइ छ।

तर उनलाई चिन्ता पनि छ–तेस्रो पुस्ताका शेर्पाहरू आरोहणमा नलाग्ने र अबको १०/१५ वर्षपछि आरोहण गाइड पाइने छैनन्।

ज्यान जोखिममा राखेर जतिपटक हिमाल चढेपनि विदेशी वा अरु एकपटक चढ्दा सेलीबे्रटी हुने शेर्पा भने २०/२२ पटक चढ्नै पर्नेप्रति उनको असन्तुष्टि छ।

‘हामी दुःख गरेर हिमाल चढ्दा केही महत्व नहुने, हामीले डोरी बाँधेको बाटोमा गएर चढेकाहरू हिरो हुने अनि शेर्पाहरुले भने २०/२२ पटक चढेपछिमात्र चर्चा हुने?’ उनले असन्तुष्टि पोखे।

सगरमाथाको चुचुरोमा पुग्ने शेर्पाहरूले एकपटकको १२ लाख रुपैयाँसम्म पाउँछन्। त्यस्तै आरोहणको लागि विदेशीहरुले ५० लाखदेखि १ करोडसम्म खर्च गर्छन् भने नेपालीले २५ लाख रुपैयाँसम्म खर्चिन्छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.