अनलाइनबाटै फाराम भरे पनि पैसा बुझाउन भने सास्ती (फोटोफिचर)


सन् २०१८ मा इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न चाहने नेपालीले आज (बिहीबार)देखि भाषा परीक्षाको फारम भर्न पाउने भएका छन्।

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत इपिएस शाखाले अनलाइनबाटै फारम भर्न पाउने व्यवस्था गरे पनि बैंक भौचर अनिवार्य भएकाले बुधबार रातिदेखि नै युवाहरू बैंकमा रकम बुझाउन लाइन लागेका थिए।

चैत १८ गतेसम्म भाषा परीक्षाको फारम भर्ने पाइने भए पनि युवाहरू अघिल्लो बुधबार राति देखि आईएमई बैंकमा लाइन लागिरहेका छन्। बैंकमा परीक्षार्थीले २४ अमेरिकी डलर परीक्षा शुल्क बुझाउन लाइन लागेर बसेका हुन्।

जेठ २६ र २७ गते भाषा परीक्षामा हुँदैछ।

नवौं संस्करण इपिएसबाट उत्पादमूलक क्षेत्रतर्फ ४८ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २३ सय गरी जम्मा ७१ सय जना उत्तीर्ण हुनेछन्। परीक्षा पोखरा र काठमाडौंमा हुनेछ। परिक्षार्थीले नै आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्नेछ।

पोखराका हकमा भने सुरूमा केन्द्र रोजेका मध्ये १२ हजार जनाले पोखरा केन्द्र छनोट गर्न पाउनेछन्। बाँकीको भने कार्यालयले केन्द्र तोक्नेछ।

परीक्षाको नतिजा २०७५ असार १६ गते प्रकाशन गरिने इपिएस कोरिया शाखाले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.