दरबारमार्ग बलात्कार घटनाका मुख्य अभियुक्त पक्राउ


दरबारमार्ग बलात्कार  घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २२ वर्षीय शैलेश कार्कीलाई पक्राउ गरेको हो।

कार्कीलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको काठमाडौंका एसएसपी विश्वराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

माघ ७ गते राति, काठमाडौंको दरवारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवती बलात्कारको शिकार बनिन्। त्यो पनि आफ्नै प्रेमी शैलेश कार्की र उनकै अरू तीनजना साथीहरुबाट।

घटना पछि मोटो रकमको डिल गर्दै घटना लुकाउने प्रयास भयो। केही दिनसम्म घटना गुपचुप नै राख्न अभियुक्तहरू सफल भए। तर घटनाको बास्तविकता बाहिरिएरै छोड्यो।

घटनाको बास्तविकता बाहिरिएसँगै दोषीलाई उन्मुक्ति दिन प्रहरीकै मिलेमतो भएको रहस्य खुल्यो। प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार प्रहरीले नै घटना गुपचुप राखेको आरोपमा अहिले,महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा छन्।

इन्सपेक्टर र सई मात्र होइन, वृत्तका इन्चार्ज डिएसपी तिलक भारतीलाई पनि बृत्तबाट हटाएर प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको छ।

यो घटनामा सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा ल्याण्डमार्क होटलका दुई कर्मचारी पक्राउ परेका छन्। मुख्य अभियुक्त सहित चार जना फरार थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.