पाउलोको नयाँ किताबमा हिप्पीकालीन काठमाडौं

कोहेलो (बाँया) र उनको नयाँ किताब 'हिप्पी' को आवरण (दायाँ)


लेखक पाउलो कोहेलोको एम्सटरड्यामदेखि काठमाडौंसम्मको आफ्नो यात्रा संस्मरण आउने भएको छ। यो किताब उनको ‘हिप्पी जीवन’ बारे हुनेछ।

आफ्नो आधिकारिक फेसबुक र ट्वीटरमा यसबारे जानकारी दिँदै उनले भनेका छन्, ‘मेरो नयाँ किताब हिप्पी यो गृष्ममा आउँदैछ। सन् १९७० दसकमा म हिप्पी भएको थिएँ। बस चढेर काठमाडौं जाँदै थिएँ। त्यो बसलाई उनीहरू ‘जादुको बस’ भन्थे। मलाई थाहा छैन, मान्छेले त्यो समयबारे अहिले चासो राख्छन् कि राख्दैनन्। मैले मेरो मनको कुरा सुनेँ र लेख्ने निधो गरेँ।’

ब्राजिलियन लेखक कोहेलोले यो किताबमा बस चढेर काठमाडौैं आएको र यहाँ हुर्किएको हिप्पी समुदायबीच आफ्ना अनुभवबारे लेखेको बताएका छन्।

उनी काठमाडौं आउँदा यहाँ गाँजा खाने गोरा साधु ‘हिप्पी’ हरूको घुँइचो लागेको थियो। सन् १९६० र ७० दशकमा गाँजा खुला हुँदा काठमाडौं हिप्पीहरूका लागि ‘स्वर्ग’ थियो। उनीहरू रंगीचंगी बस चढेर ‘हिप्पी ट्रेल’ गर्थे। विशेषगरी पश्चिमी युरोपका लन्डन, कोपेनहेगन, बर्लिन, पेरिस, मिलान, एम्सटरड्यामबाट काठमाडौंसम्म आइपुग्थे।

कोहेलो पनि २१ वर्षको उमेरमा ‘हिप्पी’ बनेका थिए। यसका पछाडि उनको लेखन नै कारण थियो। उनमा किशोरावस्थामै लेखक बन्ने ‘भूत’ सवार थियो। पाउलोले लेखकको तस्बिर मनमा कोरेका थिए। त्यस्तो व्यक्ति, जो वरपरका मान्छेलाई औसत ठान्छ र आफू गलत समयमा जन्मिएको राग अलाप्दै हिँड्छ। आफ्नो प्रतिभाको कदर अर्को पुस्ताले मात्र गर्न सक्छ भन्ने भ्रम उसको मनमा गडेको हुन्छ। ऊ सकेसम्म जटिल बन्न खोज्छ, किनकि उसलाई लाग्छ जसलाई सबैले सजिलै बुझ्छन्, उसलाई कसैले बुद्धिमान ठान्दैनन्। ऊ आफूले लेखेको हरेक वाक्य र अनुच्छेद कयौंपटक पढ्छ। एक औसत मान्छेसँग तीन हजार शब्दको ज्ञान हुन्छ, जसलाई लेखक प्रयोग गर्दैन। किनकि, शब्दकोषमा १ लाख ८९ हजार अरू शब्द छन् र ऊ आफूलाई औसत मान्छेभन्दा माथिल्लो दर्जाको ठान्छ।

उनले कोरेको यही तस्बिरमा आफ्नो आवरण बनाउन थालेका थिए। कपाल काट्न र कोर्न छाडे। घरबाट निस्कँदा सधैं एउटा किताब च्यापेर हिँड्न थाले। चालचलन अनौठो बन्दै गएपछि उनको मानसिक सन्तुलन बिग्रिएको भन्ठानेर उनलाई मानसिक अस्पताल भर्ना गरियो। १७ वर्षमै अस्पताल भर्ना भएका उनी २० वर्षका हुँदा निस्किए। आमाबाबुको मन राख्न कानुन पढ्न थाले। एक वर्ष नहुँदै आत्तिए र भौंतारिएको मन सम्हाल्न ‘हिप्पी’ बन्ने निधो गरे।

पाउलो कोहेलो हिप्पी भएका बेला।

उनले जस्ता व्यक्तिलाई लेखकको दर्जामा राखेका थिए, तिनको जिन्दगी पनि हिप्पी बराबरै थियो– स्वतन्त्र, घुम्ने, पढ्ने र आफ्नै दुनियाँमा मस्त रमाउने।

हिप्पी बन्ने मेलोमा उनले अफ्रिका, अमेरिका, मेक्सिको र युरोपका थुप्रै सहर घुमे, लेखकको अनुभूति लिएर। यही क्रममा काठमाडौंसम्म आइपुगे।

हिप्पी बनेर वर्षौं बिताएपछि उनी आफ्नै देश फर्किए। र, पूर्णकालीन लेखक बने। सन् १९८२ मा उनले ‘हेल आर्काइभ्स’ लेखे। त्यसपछि पाँच किताब लेखे पनि चर्चामा आएनन्।

सन् १९८८ मा उनले पोर्चुगिज भाषामा ‘आल्केमिस्ट’ लेखे। यो पनि पहिलेका किताबझैं थन्कियो, फेरि नछाप्ने गरी। पाँच वर्षपछि अमेरिकी प्रकाशक हार्पर कोलिन्सले अंग्रेजीमा अनुवाद गरी प्रकाशन ग‍रेपछि भने ‘आल्केमिस्ट’ र कोहेलो दुवै संसारभर चिनिए।

आल्केमिस्ट ७० भाषामा प्रकाशित भइसकेको छ। सबभन्दा बढी भाषामा अनूदित र सवार्धिक बिक्री भएको उपन्यास मानिन्छ।

‘शब्दका जादुगर’ कोहेलेले यसबीच थुप्रै किताब लेखिसकेका छन्। उनको पछिल्लो किताब ‘द स्पाई’ हो, जुन सन् २०१६ मा आएको थियो।

अब ‘हिप्पी’ आउँदैछ, जसमा उनको जीवन काठमाडौंसँग जोडिएको छ।

यो वर्षको जूनदेखि डिसेम्बर महिनासम्म विश्वका विभिन्न देशमा किताब सार्वजनिक हुने कोहेलोले जानकारी दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.