पश्चिमी न्यून चापीय प्रणालीले बदली र वर्षा


पश्चिमी वायुको प्रभावका कारण आज(मंगलबार)  काठमाडौंसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ।

उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिए।

काठमाडौंमा आज बिहानीपख हल्का वर्षा भएको थियो। मौसममा आएको बदलीका कारण राजधानीमा बढी चिसो महसुस गरिएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लामा २९, सुर्खेतमा १८, डडेल्धुरामा १२, दाङमा १२, दिपायलमा नौ, बाँकेमा आठ, धनगढी र भैरहवामा चार चार तथा पोखरा र काठमाडौंमा दुई दुई मिलिमिटर वर्षात भएको छ।

काठमाडौंको अधिकतम तापक्रम २० र न्यूनतम आठ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा कम जुम्लामा ऋणात्मक ३.९ र सबैभन्दा बढी सिमरामा १२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.