गाँजाको सर्को शिवरात्रिमै प्रतिबन्धित !

तस्बिरः नारायण महर्जन/सेतोपाटी


महाशिवरात्रि मेला भर्न आएका जोगीहरू गाँजाको सर्को तान्न थालिसके, तर यसपालि पशुपति ‘गाँजा निषेधित क्षेत्र’ हो।

पशुपति विकास कोषले मन्दिर परिसर लगायत वरपर क्षेत्रमा माघ तेस्रो साताबाटै गाँजा सेवन गर्न रोक लगाएको छ।

विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई ‘लागुऔषधबाट मुक्त राख्न’ यस्तो निर्णय गरिएको कोषका सदस्य–सचिव प्रदीप ढकालले बताएका छन्। प्रहरीले गाँजा सेवन गरेको भन्दै ३९ जनालाई मंगलबार बिहानै पक्राउ गरेको छ। गाँजा बेचेको आरोपमा दुई जना ‘बाबा’ समातिएका छन्।

गाँजा सेवन र बिक्री कानुनी रूपमा प्रतिबन्धित भए पनि शिवरात्रि बेला पशुपतिमा खुलाजस्तै हुन्थ्यो। प्रहरीले देखे पनि आँखा चिम्लन्थे। यसपालि पूरै रोक त छैन, कडिकडाउ भने छ।

सधैं यस्तो हुन्थेन।

केही वर्षअघिसम्म शिवरात्रि मेला भर्न आउने जोगी र बाबाहरूलाई राज्यले नै गाँजा बाँड्ने चलन थियो। यो चलन २००७ साल अघिबाटै सुरु भएको हो।

कोषका पूर्व सदस्य–सचिव गोविन्द टन्डनका अनुसार २००७ सालअघि वर्षको एकचोटि शिवरात्रि बेला मात्र भारतीयहरूलाई काठमाडौं छिर्ने अनुमति दिइन्थ्यो। उनीहरू आठ दिनको अनुमति लिएर यहाँ आउँथे।

मेला भर्न आउने जोगी, बाबा तथा अन्य भक्तजनलाई वीरगन्जमा धुमधाम स्वागत–सत्कार गरिन्थ्यो। बाटो–बाटोमा उनीहरूलाई आराम गर्न पन्डाल लगाइन्थ्यो। खाने, बस्ने लगायत यात्राको सम्पूर्ण प्रबन्ध राज्यले नै मिलाउँथ्यो। यसैमा गाँजा वितरण पनि पर्थ्यो।

गाँजा वितरणको जिम्मा ‘श्री ५ गुठी बन्दोबस्त अड्डा’ र ‘श्री ३ गुठी बन्दोबस्त अड्डा’ नामका दुई संस्थालाई थियो। यी संस्थालाई राज्यले नै ‘शिवरात्रि मेला भर्न आएका बाबालाई गाँजा बाँड्नू’ भनी जिम्मेवारी तोकेको थियो। यही व्यवस्थाअनुरुप प्रतिव्यक्ति २५ देखि ३० ग्राम गाँजा वितरण गरिने टन्डन बताउँछन्।

‘उनीहरूलाई एकादशीदेखि शिवरात्रि मेला नसकिएसम्म आठ दिनलाई पुग्ने गरी गाँजा दिइन्थ्यो,’ उनले भने।

अझ सन् १९४७ मा भारत स्वतन्त्र हुनुअघि त्यहाँका विभिन्न राज्यबाट राजा–महाराजा र भाइभारदारसमेत शिवरात्रि मेला भर्न आउँथे। राजकीय स्तरमा हुने भ्रमणको व्यवस्था मिलाउन नेपाल सरकारलाई पहिल्यै सूचना दिइएको हुन्थ्यो।

सूचना पाउनेबित्तिकै सम्बन्धित राजा–महाराजाको स्वागत निम्ति तामझामसाथ तयारी गरिन्थ्यो। यस्तो बेला तत्कालीन राणा प्रधानमन्त्री नै स्वागत तयारीमा खटिएका हुन्थे।

‘२००७ सालअघि शिवरात्रि व्यवस्थापन श्री ३ महाराजकै पूर्ण निगरानीमा हुन्थ्यो। भारतबाट कुनै राजा–महाराजा आएका छन् भने यहाँ राजाबाट पनि दर्शनभेट दिने चलन थियो,’ टन्डनले भने, ‘त्यस्तो बेला राजा–महाराजा र उनका भाइभारदारको स्वागत निम्ति गाँजा टक्र्याउने गरिन्थ्यो।’

भारत स्वतन्त्र भयो। राजा–महाराजा रहेनन्। यता नेपालमा पनि राणा शासन अन्त्य भयो। प्रजातन्त्र आयो। शिवरात्रि बेला मात्र आउने भारतीयहरू वर्षैभरि काठमाडौं आउजाउ गर्न थाले।

गाँजा वितरण चलन भने त्यसपछि पनि फेरिएन।

टन्डनका अनुसार २०२१ सालमा तत्कालीन दुवै गुठी बन्दोबस्त अड्डा गाभेर गुठी संस्थान स्थापना गरियो। शिवरात्रिमा जोगी र बाबाहरूलाई गाँजा बाँड्ने जिम्मा त्यसपछि गुठी संस्थानले पायो।

मेला भर्न आउनेले भगवान शिवका नाममा राज्यले नै बाँड्ने गाँजाको सर्को तान्ने क्रम चलिरह्यो।

नेपालमा परापूर्वकालदेखि गाँजा सेवन स्वीकार्य थियो। तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बाली रूपमा गाँजा खेती हुन्थ्यो। यहाँको माटोमा प्राकृतिक रूपले फल्ने गाँजा उम्दा गुणस्तरको मानिन्छ।

यसबीच सन् १९७० दशकको सुरुआतबाट विश्वभरि ‘हिप्पी’ युग सुरु भयो। अमेरिकी तथा युरोपेलीहरू ध्यान र मोक्षको खोजीमा संसारभरि भौंतारिन थाले। नेपाल र भारत हिप्पी युगको ‘राजधानी’ बन्यो। खासगरी काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थाल्यो। त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे।

कानुनी रूपले नै गाँजा बिक्री हुने त्यो समय शिवरात्रिमा बन्देज हुने त कुरै भएन।

यो समय धेरै टिकेन।

तस्बिरः नारायण महर्जन/सेतोपाटी

अमेरिकाले गाँजा प्रतिबन्ध गर्न सरकारमाथि दबाब दियो। हिप्पी कालमा काठमाडौं छिरेका आफ्ना नागरिक, खासगरी युवा पुस्ता गाँजा मोहमा यतै भुल्न थालेपछि अमेरिकी सरकार चिन्तित थियो।

अमेरिका लगायत राष्ट्रसंघीय दबाबमा सरकारले केही कडिकडाउ गर्न थाल्यो। गाँजा खुला बिक्री गर्न रोक लगाइयो, तर सेवन गर्नेलाई पक्राउ गरिएन। अहिलेजस्तो गाउँ–गाउँमा किसानले मिहिनेत गरी लगाएको गाँजा खेती प्रहरी परिचालन गरेर फाँड्ने चलन पनि थिएन।

अमेरिकी लगायत पश्चिमी मुलुकलाई नेपालको यो व्यवहार सह्य भएन।

त्यसबेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तो कडा लागुऔषधको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपाल सरकारको आलोचना गर्यो। गरिब देश नेपालले अन्तर्राष्ट्रिय दबाब थेग्न सकेन। एसिया र अन्य पश्चिमी मुलुकमा प्रतिबन्ध नहुँदै गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीमा राख्न नेपाल बाध्य भयो।

अमेरिका र राष्ट्रसंघको निरन्तर दबाबपछि सरकारले लागुऔषध नियन्त्रण ऐन २०३३ मार्फत् गाँजा उत्पादन र किनबेच पूरै निषेध गर्यो। गाँजा सेवन, खेती, उत्पादन, खरिदबिक्री, निकासी, पैठारी वा भण्डारण गर्न ऐनले वर्जित गरेको छ।

यही ऐनमा टेकेर गाँजा बेच्ने, सेवन गर्ने र खेती गर्ने किसानमाथि पनि प्रहरी धरपकड सुरु भयो। जुन अहिलेसम्म जारी छ।

कानुनमा यति चर्को बन्देज हुँदाहुँदै शिवरात्रि मेला भर्न आउनेलाई गाँजा बाँड्ने र सेवन गर्न छुट दिने चलन भने रोकिएन। अरू बेला लुकिछिपी गाँजा खानेहरू शिवरात्रिको प्रतीक्षा गर्न थाले।

राज्यको कसिकसाउ भने झन् झन् बढ्दै गयो।

२०४३ सालमा पशुपति क्षेत्र विकास कोष स्थापनापछि उसैले पशुपतिमा हुने गाँजा सेवन रोक्न ‘लबिङ’ थाल्यो। गुठी संस्थानमार्फत् हुँदै आएको गाँजा वितरणमा २०५३/५४ सालबाट रोक लगाइयो। पूर्ण प्रतिबन्ध भने गरिएन। जोगी र बाबाहरूलाई व्यक्तिगत रूपमै भए पनि गाँजा वितरण गर्ने छुट जारी रह्यो। ऐतिहासिक परम्पराकै कारण एकैचोटि प्रतिबन्धमा जान सरकार हच्केको हुनसक्ने जानकार बताउँछन्।

त्यसको चार–पाँच वर्षपछि भने पशुपति विकास कोषले व्यक्तिगत रूपमा पनि गाँजा बाँड्न रोक लगायो।

‘शिवरात्रि मनाउन भारतबाट आउने भेषधारी जोगीहरूले आफूसँगै ल्याएर खाए केही छैन, तर राज्य वा व्यक्तिगत रूपमा गाँजा वितरण गर्न पाइन्न भनेर रोक लगाइएको थियो,’ टन्डनले भने।

गाँजामाथि यो बन्देज यस वर्ष अझ कडा पारिएको छ। कोषले पशुपतिलाई ‘गाँजा निषेधित क्षेत्र’ घोषणा गरेको छ। पशुपति परिसरका साथै मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर, राजराजेश्वरी नहर लगायत क्षेत्रमा गाँजा सेवन नियन्त्रण गर्न सुरक्षा गस्ती बढाइएको कोषका सदस्य–सचिव ढकालले बताए।

हुन त शिवरात्रि मनाउन आएका जोगीले अहिले पनि गाँजा तानिरहेकै देखिन्छन्। उनीहरूसँगै युवाहरू पनि मृगस्थली जंगलमा गाँजाको सर्को तान्दै गरेका भेटिन्छन्। कानुनी रूपमा भने वर्षको एकचोटि गाँजा बाँड्ने र सेवन गर्न दिने चलन यस वर्षबाट पूरै नियन्त्रित भएको छ।

पछिल्लो समय गाँजाको औषधीय गुण वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ। नेपाललाई गाँजामा प्रतिबन्ध लगाउन दबाब दिने अमेरिकाकै कतिपय राज्यमा वैधानिक प्रयोग खुला भइसकेको छ। भारतमा योगगुरू रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले गाँजाबाट विभिन्न आयुर्वेदिक औषधि उत्पादन गर्न अनुसन्धान सुरु गर्ने घोषणा गरिसकेको छ।

पतञ्जलीको गाँजा अनुसन्धानले नेपाललाई दबाब

परम्परागत रूपले नै गाँजाको आयुर्वेदिक प्रयोग गर्दै आएको नेपालमा पनि नीतिगत प्रतिबन्ध फुकुवा गर्नुपर्ने बहस छ। यस्तो बेला शिवरात्रिको दिन गाँजामाथि कडिकडाउ किन?

‘भ्रम हटाउन,’ टन्डनले भने, ‘जसरी श्रीपञ्चमीलाई अक्षर आरम्भ गर्ने दिनका रूपमा मनाइन्छ, त्यसैगरी शिवरात्रिलाई गाँजा सेवन आरम्भ गर्ने दिनका रूपमा बुझ्न थालियो। भगवान शिवजी त गाँजा खाएर बस्नुहुन्थ्यो भने हामीले किन खान नहुने भन्ने भ्रम फैलियो। यो गलत हो।’

‘शिवजीले त समुद्र मन्थनबाट निस्केको ‘कालकूट’ विष पनि सेवन गर्नुभएको थियो, त्यही भनेर अब विष पनि सेवन गर्न थाल्ने त?’ उनले भने।

गाँजालाई ‘शिवको प्रसाद’ भन्दै महाशिवरात्रिकै गलत व्याख्या गर्ने प्रवृत्ति अन्त्य गर्न प्रतिबन्ध लगाइएको टन्डनले बताए।

कोषका सदस्य–सचिव ढकालको यस्तै धारणा छ।

उनी पशुपतिनाथ क्षेत्र ध्यान, योग र साधनास्थल भएकाले आध्यात्मिक केन्द्रका रूपमा विकास गरिने बताउँछन्। दुर्व्यसनमा लागेकालाई उद्धार गर्नुपर्ने यस्तो पावन भूमिमा शिवरात्रिका नाममा गाँजा बिक्री–वितरण र सेवन गलत भएको उनको भनाइ छ।

तस्बिरः नारायण महर्जन/सेतोपाटी

यसै सन्दर्भमा हामीले टन्डनलाई सोध्यौं, ‘अन्तर्राष्ट्रिय स्तरमै गाँजाको वैधानिक प्रयोग खुला भइरहेका बेला नेपालमा अझै प्रतिबन्ध किन?’

उनले गाँजाको औषधीय गुण स्वीकारे। यसलाई परम्परागत रूपले नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिँदै आएकोमा उनको सहमति छ। यति हुँदाहुँदै राज्यको निगरानीबिना जथाभाबी खुला गर्दा बेथिति र लागुऔषध दुर्व्यसन बढ्नसक्ने उनले बताए।

‘गाँजा आयुर्वेदिक ओखती हो, तर मात्रा मिलाएर खानुपर्छ। मात्तेर हिँड्ने गरी सेवन गर्यो भने रक्सी र गाँजामा कुनै अन्तर हुने छैन,’ टन्डनले भने।

उनले गाँजाका केही उपयोगिताबारे चर्चा गरे।

‘गाँजाको रेसाबाट वातावरणमैत्री कपडा बन्छ। यस्तो लुगा अन्तर्राष्ट्रिय बजारमा प्रसिद्ध छ र महँगो दाममा बिक्छ,’ उनले भने, ‘हामीले अनुसन्धान गरेर गाँजाको रेसाबाट कपडा बनाउने उद्योग प्रोत्साहित गर्न सक्छौं।’

उनका अनुसार कतिपय देशमा गाँजाको बोटबाट कम्पोस्ट मल बनाइन्छ। बिरामी लठ्याउन वा पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ औषधि नहुँदा शल्यक्रिया गर्नुअघि बिरामीलाई गाँजा खुवाउने चलन थियो।

‘हाम्रोजस्तो जलवायु भएको देशमा गाँजा रोप्दै नरोपी फल्छ। कतिपय किसानले नगदे बालीका रूपमा पनि गाँजा खेती गर्थे। त्यसो भन्दैमा अवगुण हुँदै नभएको होइन। जथाभाबी सेवन गरे गाँजाले पनि हानि गर्छ। औषधीय गुण व्याख्या गर्दा युवा पुस्तालाई यसबाट हुने हानि बुझाउनुपर्छ,’ उनले भने, ‘नत्र युवा पुस्तामा गाँजा सेवन बढ्ने र यही बाटो हुँदै अरू लागुऔषधको दुर्व्यसनमा लाग्ने खतरा हुन्छ।’

आयुर्वेद अनुसन्धानकर्ता पनि गाँजाका फाइदा र बेफाइदा दुवै भएको बताउँछन्।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइरालाका अनुसार झाडापखाला, श्वासप्रश्वास समस्या, अनिद्रा, शारीरिक पीडा, मानसिक तनाव लगायतमा गाँजाको औषधि ‘अचुक’ मानिन्छ। शरीर सुन्निने र क्यान्सरको दुखाइ कम गर्न यसले राम्रो काम गर्छ।

हालै सार्वजनिक एक वैज्ञानिक रिपोर्टले दुखाई कम गर्ने अन्य औषधिका तुलनामा गाँजालाई ‘गुणस्तरीय’ देखाएको छ। अमेरिकी राज्यहरूमा करिब ११ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा गाँजा सेवन र पीडा कम गर्ने अन्य औषधि सेवनको प्रभाव तुलना गरिएको थियो। दुखाई कम गर्ने अन्य औषधि अत्यधिक सेवन गर्दा बिरामीको मृत्यु सम्भावना ४० प्रतिशत बढी पाइयो। गाँजा प्रयोग गर्न थालेपछि मृत्युदर २५ प्रतिशतमा झरेको अध्ययनको निष्कर्ष छ।

अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको शोधमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी पाइएको छ। शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।

गाँजाका सेवनका बेफाइदा पनि छन्।

गाँजा सोझै सेवन गर्दा हृदयगति बढ्ने, धुवाँले श्वासप्रश्वासमा असर गर्ने र शारीरिक गतिविधिमा प्रभाव पार्ने देखिएको छ। कसैकसैमा हृदयाघात पनि गराएको छ।

‘युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजी’ को अध्ययनअनुसार सिधै गाँजा खानेलाई उच्च रक्तचापको जोखिम हुन्छ। गर्भावस्थामा खाँदा जन्मने बच्चाको तौल कम हुने देखिएको छ।

थुप्रै शोधको निष्कर्षअनुसार गाँजाले त्यतिबेला मात्र सकारात्मक प्रभाव पार्छ, जब यसको प्रयोग नियन्त्रित र सही परिमाणमा हुन्छ।

‘पृथ्वीमा रहेका सम्पूर्ण चिज अमृत पनि हुनसक्छ, विष पनि,’ त्रिभुवन विश्वविद्यालय, आयुर्वेद क्याम्पस प्रमुख डिबी रोका भन्छन्, ‘कुनै पनि तत्वलाई मात्रा, उद्देश्य र प्रयोग मिलाएर खायो भने औषधि हुन्छ भन्ने आयुर्वेदको मान्यता हो। गाँजा त्यस्तै हो।’

फाइदा–बेफाइदाकै कारण गाँजा उत्पादन र प्रयोगमा राज्यको निगरानी हुनुपर्ने टन्डन बताउँछन्।

‘सरकारले यसको आयुर्वेदिक गुण केलाउन विधिवत् अनुसन्धान गर्नुपर्छ र व्यवस्थित ढंगले मात्र प्रयोग गर्न दिनुपर्छ,’ उनले भने, ‘मनमौजी सेवन गर्न छुट दिए भयावह रूप लिनसक्छ।’

पशुपति विकास कोषको यसपालिको निर्णय हेर्दा टन्डनले भनेजस्तै वैधानिक प्रयोग खुला नभएसम्म अब शिवरात्रिमा पनि गाँजाको सर्को सामान्य हुने छैन।

चाहे त्यो पशुपति क्षेत्र नै किन नहोस्!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.