राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर नमूना दलित बस्तीको साँचो निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी छन्।
चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण गर्दै राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताइन्। उनले भनिन्, ‘देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ, यो एकदमै अतुलनीय छ।’
कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ। गत असोज ४ गते शिलान्यास भएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण भएका छन्।
गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारका घर डुबानमा परेको थियो। करिब पाँच करोड ९५ लाख रुसैँयाको लागतमा निर्मित यस बस्ती निर्माण गर्न कलाकार कट्टेल दम्पति दिनरात खटिएका थिए।
बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कलाकार कट्टेलले बताए। त्यस्तै यो धुर्मुस–सुन्तली फाउण्डेशनले सम्पन्न गरेको चौथो परियोजना हो।