हामीले फुलचोकी जंगलमा मंगलबारबाटै जोनलाई खोज्न थालेका हौं।
हामी २० जनाभन्दा बढी थियौं। मंगलबार दिनभरि खोज्यौं तर भेटेनौं। बुधबार भने तीन समूह बनाएर अलग-अलग ठाउँमा खोजी गर्यौं। म र अनिल भट्टराई एउटै टोलीमा थियौं। हामीले बिहान ११ बजेबाट खोज्न थाल्यौं।
लाकुरी भञ्याङबाट गोदावरी झर्ने ओरालोतिर हामी खोज्दै थियौं। ३ बजेसम्म केही पत्ता लागेन। गोदावरी झर्दै गर्दा ४ बजेतिर भिरमा एउटा कालो ब्याग देख्यौं। ब्यागमा एउटा कलम र चम्चा थियो।
हामीले त्यो ब्याग जोनको हुन सक्ने अनुमान गर्यौं। ब्याग भेटिएपछि जोनलाई भेटिन्छ भन्ने आश बढ्यो।
अझ तल झर्दा टिफिन बक्स भेट्यौं। ब्यागसँगै टिफिन भेटिएपछि जोन यसै क्षेत्रमा छ भन्ने हामीले अनुमान गर्यौं। टिफिन भएको ठाउँभन्दा २ सय मिटर तल घिसारिएको डोब देख्यौं। पर रुख लडिरहेको थियो। भिरमा लडेको रुखमा एक जना अड्किएको हामीले देख्यौं।
जोन हराएपछि सार्वजनिक भएको फोटोमा हामीले टोपी देखेका थियौं। त्यही टोपी देखेपछि हामीले त्यो बालक जोन भएको निष्कर्ष निकाल्यौं।
हामीले ठूलो स्वरमा बोलायौं। उनले केही संकेत गर्न सकिरहेका थिएनन्।
म विस्तारै विस्तारै जोन भएको ठाउँमा डोरीको सहायताले पुगेँ। जोन लडिरहेका थिए। मलाई देख्नेबित्तिकै जोन रोए। अंगालो हाले। मैले पानी र बिस्कुट खान दिएँ। उनी हात चलाउन र विस्तारै बोल्न सक्ने भएँ।
उनलाई उद्धार गर्न ३ घन्टाजति लाग्यो । भेटिएपछि प्रहरीमा खबर गर्यौं। खोज्न गएका साथीहरुले रेडियो बोकेका थिए। त्यसैमा खबर गर्यौं। ६ दिनसम्म यस्तो चिसोमा जोनलाई जीवित उद्धार गर्न पाउँदा खुसी लागेको छ।
जोनलाई खोज्न सहयोग गर्ने सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु।
https://www.youtube.com/watch?v=v882K-wMXE4
(सेतोपाटीका प्रकाश ढुंगानाले गरेको कुराकानीमा आधारित)