ऐतिहासिक सिन्धुलीगढी जिर्णोद्धार तथा पुनर्निर्माण गुरूयोजना तयारीका लागि कमलामाई नगरपालिका र गैर आवासीय नेपाली संघ एनआरएनएबीच सम्झौता भएको छ।
कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री र एनआरएनका अध्यक्ष भवन भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले ऐतिहासिक सिन्धुलीगढीको पुनर्निर्माणका लागि एनआरएनएको प्रतिवद्धताको स्वागत गरे।
एनआरएनएकै इतिहासमा अत्यन्तै महत्वपूर्ण कार्य भएको भन्दै नेता गजुरेलले भने, ‘एनआरएनले इतिहास लेख्ने काम गर्यो। ऐतिहासिक महत्वको विषयलाई विदेशमा रहेका नेपालीले संरक्षण गर्नु प्रमुख दायित्व समेत हो।’
गैर आवासीय नेपाली संघका अध्यक्ष भट्टले ऐतिहासिक धरोहरको संरक्षणको गर्नु आफूहरुको पनि दायित्व भएको बताए। उनले यो कार्य सिन्धुलीगढीको संरक्षणबाटै प्रारम्भ भएको बताए। यो अभियान पुरा गर्न विश्वभरका एनआरएनए सञ्जालाई आव्हान गर्ने उनले जानकारी दिए।
त्यस्तै संघका सचिव डिबी क्षेत्रीले जन्म थलोकै धरोधरको विजोग देखेर पुनर्निर्माणमा जुटेको बताए। उनले कुनै पनि हालतामा यो योजनाले पूर्णता पाउने दाबी गरे।
नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले एनआरएनएले इतिहास जोगाउने काम गरेको बताए। सिन्धुलीगढीको इतिहास कोट्याउँदै नगर प्रमुख खत्रीले गढीमा दरबारको पुनर्निर्माणसहितको युद्धताकाको तोपका साथै सेनाको एक टुकुडी समेत राखिने बताए।
त्यस्तै नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्जवल बरालले सिन्धुलीगढी जिर्णोद्धारका लागि मनैदेखि लाग्नु पर्नेमा जोड दिए। उनले विभाजित भएर भन्दा पनि यो एजेण्डामा एकताको आवश्यकता रहेकोमा जोड दिए।कार्यक्रममा एनआरएनका प्रवक्ता भुषण घिमिरे लगायतको उपस्थिति थियो।