कोशीको माछा उफ्रने शम्भुको होटल

तस्बिर: गिरीश गिरी/सेतोपाटी


हिँड्नु छ राजमार्गमा, खोज्नु छ जिब्रोमा झुन्डिने स्वाद!

बस सञ्चालकहरुले त राजमार्गका यात्रुको यस्तो चाहना कुण्ठितै बनाउँदै आएका छन्। नत्र हाम्रा राजमार्गमा स्वादका खान्कीको कमी छैन।

निजी सवारीमा हुनुहुन्छ भने आउनुस् शम्भु होटलतिर मोडिऔं।

इटहरी जाँदै गर्दा जुन विन्दुमा कोशी ब्यारेज टुङ्गिन्छ, त्यहाँबाट दुइटा बाटा छन्। एउटा नदीकै दिशामा ठ्याक्कै उत्तर मोडिन्छ, जुन राजमार्ग हो। अर्को भारततर्फ लाग्ने गरी सोझै बढेको मसिनो बाटो छ। झुप्राझुप्री पसल हुँदै बढेको त्यो नपत्याउँदो साँघुरो बाटोमा थोरै मात्र अगाडि जानेबित्तिकै होटलहरु पनि देखिन थाल्छन्। अझ अलिकति अगाडि भित्तामा एउटा खिया लागेको टिनलाई संकेतबोर्ड बनाइएको छ। त्यसमा लेखिएको अक्षरले ‘शम्भु होटल’ जान दाहिने मोडिने निर्देश गर्छ।

त्यो नपत्याउँदो गल्ली झनै नपत्याउँदो फुस्रो होटलमा गएर सकिन्छ। अड्याएका खम्बादेखि टेबुल बेञ्चसम्म प्रयोग भएका सबै काठ मक्किएका छन्। होटलै २०१४ सालमा खोलिएकाले काठको घर पुरानो छ। तर, पख्नुस्! तपाईं त घरको निम्ति होइन, खानाको निम्ति पो आउनुभएको हो। त्यसो त पारखीका निम्ति ६० वर्ष पुरानो यो होटल आफैंमा ‘भिन्टेज’ हो।

अब आउनुस् काउन्टरमा।

एक नजर हेर्नेबित्तिकै स्कटल्यान्डलाई विश्वभर सबैभन्दा बढी चिनाउने जोनी वाकर कम्पनीका अनेकथरी ब्रान्ड लहरै उभिएको देखिन्छ। मदिराको त्यही लहरमा सिंगल माल्ट ह्विस्कीदेखि थरीथरीका वाइन पनि राखिएका छन्। अर्थात्, यो कतिखेर ढल्लाजस्तो पुरानो होटलमा कस्ता मानिस आएर खानपिन गर्छन् भन्ने मसिनो झलक यी रक्सीका बोतलबाटै मिल्छ।

त्यहीँ तल कोशीको पानीबाट भर्खर माथि उक्लेका स-साना माछा फलामे कराइमा झर्झराउने गरेर तार्दै गरेको देखेपछि यस्ता पेय एक पेग लगाएर निल्न पाइएन भने मन थाम्न गाह्रो हुन्छ। त्यो रहरलाई फ्रिजबाट निकालेको चिसो बियरले पनि साथ दिनसक्छ।

यस्तै बेला भान्छामा के के रहेछन् भनेर हेर्न जाने मन भए त्यो पनि खुला छ। जताततै डेक्ची, प्लेट र बाटामा थरीथरीका माछा कतै स्थिर त कतै अझै चलमलाइरहेका देखिन्छन्।

‘त्यो जलकपुर हो,’ किस्तीमा अलग्गै राखिएको माछा देखाएपछि एक महिलाले भनिन्, ‘कोशीको फेमस यो माछाकै झोल अहिले भातसँग दिन्छौं।’

त्यसपछि उनले अर्कोतर्फको बाटा देखाइन्। त्यहाँ अरु धेरै स-साना माछा थिए।

‘यो चाहिँ कोशीकै अर्को फेमस माछा मरोड हो,’ उनले भनिन्, ‘भुटेर खान असाध्यै स्वादिला हुन्छन्।’

हामीले होटल पस्दापस्दै खाइरहेका माछा त्यही मरोड रहेछ। अर्थात् ‘स्टार्टर’ मा मरोड र ‘मेन कोर्स’ मा जलकपुर।

‘कोशीबाट अनेकथरीका माछा निस्कन्छन्,’ उनी भनिरहेकी थिइन्, ‘अहिले हामीसँग जलकपुर र मरोडबाहेक काँटी र बुआरी माछा पनि छन्।’

कहिलेकाहीँ सितलपेटी र सहरजस्ता स्वादका निम्ति चर्चित माछा पनि जालमा पर्नेबित्तिकै शम्भु होटलसम्म आइपुग्ने गरेका छन्।

यति जानकारी पाएपछि मलाई यो होटलको इतिहास जान्न मन लाग्यो। काउन्टरदेखि भान्छा अनि पाहुनासम्म भ्याइरहेका व्यस्त मानिसले सेतो लुगा लगाएका थिए। ५० वर्षे ती होटलका मालिकको नाम नै शम्भु रहेछ।

‘मेरो बुवा हर्कबहादुर श्रेष्ठ २००९ सालमा भक्तपुरबाट मधेस झर्नुभएको थियो,’ शम्भुले भने, ‘उहाँले नै खोल्नुभएको होटल मैले चलाउँदै आएको छु।’

शम्भुले लगाइरहेको सेतो लुगा तिनै पिताको शोकमा रहेछ, जसको नौ महिनाअघि ८४ वर्ष उमेरमा मृत्यु भएको थियो।

कुराकानी तिनै पिताको संघर्षबाट सुरु भयो।

आमाको निधनपछि बैरागिएर हर्कबहादुर ६५ वर्षअघि मधेस झरेका रहेछन्। जबकि, अघिल्लो वर्ष मात्र उनले उपत्यकाभित्रै कालिमाटी बसोबास गर्ने परिवारमा बिहे गरेका थिए। भर्खरकी पत्नीलाई पनि उनले भक्तपुरको कमलविनायकस्थित घरमै छाडेर मधेस झरेका रहेछन्। हिँडेपछि उनी सुरुमा वीरगन्ज पुगे। अझ अगाडि जान मन लाग्यो। दरभंगा हुँदै मधुवनी पुगे।

भारतका चम्पारण सहरहरुमा बरालिएर हिँडिरहेकै बेला यता कोशी ब्यारेजको निर्माण सुरु हुन थालेको थियो। त्यसको मुख्य डिभिजन अफिस मधुवनीमै थियो। हर्कबहादुरले त्यसैमा रोजगारी पाएछन्।

त्यही डिभिजन कार्यालयले यता नेपालमा विशाल बाँध बनाइरहेको थियो। त्यस निम्ति फिल्डमा गएर काम गर्न हर्कबहादुर जत्तिको विश्वासिलो मानिस भारतीयका निम्ति अरु को हुनसक्थे?

हर्कबहादुर यता खटाइए।

‘२०११ सालमा बुबा कोशी ब्यारेज आउनुभएपछि त्यसको दुई वर्षमै अर्थात् २०१३ सालमा भक्तपुर गएर आमालाई पनि यतै लिएर आउनुभयो,’ शम्भुले भने, ‘आमा आउनुभएलगत्तै अर्को वर्ष उहाँहरुले पाँच रुपैयाँ लगानीमा यो होटल खोल्नुभएको थियो।’

होटल चलाउन भ्याइनभ्याइ काम गरिरहेका शम्भु सँगसँगै म रेकर्डर लिएर पछ्याउँदै कुरा गरिरहेको थिएँ। उनी घरि ग्राहकको अर्डर लिन्थे त घरि उतिबेलाको आफ्नो पारिवारिक कथा सुनाउँथे। यसरी तत्कालका तत्काल उनको अनुहारमा आइरहेको बेग्लाबेग्लै प्रतिक्रिया आफैंमा रोचक दृश्य बनिरहेको थियो।

‘त्यो बेला यहाँ चिया पिउने पसल पनि थिएन,’ उनले भने, ‘त्यस्तो अवस्थामा आमालाई यतातिर अल्झाउन पाए दुई पैसा कमाइ पनि हुने सोचले चिया र दही–चिउराको सामान्य पसलबाट यसको सुरुआत भएको थियो।’

पसल यस्तरी चल्न थाल्यो, त्यसले शम्भुको आमालाई मात्र नभएर पिता हर्कबहादुरलाई पनि यसैमा व्यस्त बनाइदियो। त्यतिबेला ब्यारेज निर्माणसँगै राजमार्ग विस्तार पनि धमाधम भइरहेको थियो। यसरी यो भेगमा चहलपहल बढे पनि खानपिनको ठाउँ थिएन। ब्यारेजमै काम गर्ने हाकिमहरुदेखि कर्मचारीलाई पनि खाने ठाउँको अभाव खट्किरहेका बेला त्यो रिक्तता यो होटलले पूरा गरेको थियो। प्रोजेक्टबाट पनि यो परिवारले होटल चलाउन प्रोत्साहन नै पायो।

‘पसल खोलेको केही महिनामै बुबाले जागिर छाड्नुभयो,’ शम्भुले थपे, ‘त्यसयता आजीवन बुबाको लगानी यो होटलमै भयो।’

सुरुमा होटलको नाम थिएन। चिया नास्ता खुवाउन उतिबेला खुलेको होटलको नामै किन चाहिन्थ्यो र?

‘२०४४ सालमा लाइसेन्स प्रक्रिया सुरु भएपछि आमाको नामबाट यसलाई ‘मोहन होटल’ नामाकरण गर्यौं,’ शम्भु भन्छन्, ‘२०५७ सालमा आमाको निधनपछि बुबाको अनुमतिमा मेरै नामबाट ‘शम्भु होटल’ बनाइएको हो।’

कोशी ब्यारेजमै २०२४ सालमा जन्मेका शम्भुका एक जना दाइ र अर्का एक भाइ पनि छन्। दाइले मिर्चैयामा होटलै खोलेका छन् भने भाइ काठमाडौंमा पसल थापेर बसेका छन्। बुबा र आमाले चलाउँदै आएको होटल आफ्नै एकल जिम्मेवारीमा आउनुअघि २०४३ सालदेखि शम्भु सक्रियतापूर्वक सघाउँदै आइरहेका थिए। त्यसको दुई वर्षअघि प्रेम विवाह गरेका शम्भुकी पत्नीले यतिबेला होटल चलाउन उनलाई सघाइरहेकी छन्।

उनीहरुका चार जना छोराछोरी इटहरी बसेर पढिरहेका छन्। ठूलो छोरा र छोरी त स्नातकोत्तर अन्तिम वर्षमै पुगिसके।

‘यहाँ प्रायः बुबाकै पालादेखि चिनेजानेका मानिस खाना खान आउने गरेका छन्,’ शम्भु भन्छन्, ‘त्यसबाहेक निजी सवारीमा घुम्न हिँडेका, प्रोजेक्टमा काम गर्ने खानपिनका पारखी आइरहन्छन्।’

यसरी खान आएका मानिस बाटोमा भोक लागेर पस्नेभन्दा निस्कने बेलामै ‘आज शम्भुको होटलमा खाने’ भन्ने योजनासाथ आउने गरेको सुन्दा उनलाई खुसी लाग्ने गरेको छ।

‘ग्रुपमा आउँदा धेरै मानिसले बाटैबाट फोन गरेर जानकारी दिनुहुन्छ,’ शम्भु भन्छन्, ‘त्यस्तो बेला हामी उहाँहरु आउने समयमै सबथोक ठीक पारेर राखिदिन्छौं।’

शम्भुका अनुसार यहाँ आउने मानिसमा सबैभन्दा बढ्ता चाह ‘आज कोशीमा के के माछा परेको रहेछ’ भन्ने जिज्ञासा हुन्छ। त्यसैको स्वाद लिन खोज्छन्। त्यसपछि बल्ल शम्भुको परिवारले पकाउने खानाको पुरानो स्वाद आउँछ।

यहाँ माछालाई असाध्यै धेरै मरमसला हाल्नुभन्दा साधारण तरिकाले पकाउने गरिन्छ। त्यसले कोशीको माछाको जुन काइदा स्वाद छ, त्यो हराउन पाउँदैन। माछाको झोल सादा हुँदाहुँदै तिख्खर बन्छ।

‘मैले सबैभन्दा बढी जोड गर्ने नै माछा छान्न हो,’ शम्भु भन्छन्, ‘माछा सही भएपछि खानेकुरा आफैं सही हुन्छ।’

कोशी नदीभन्दा अन्यत्रको माछा आफ्नो भान्छामा आजसम्मै नपाकेको शम्भु दाबी गर्छन्। उनका अनुसार यहाँका पुराना व्यापारीले नै होटलसम्म माछा ल्याइदिने गरेका छन्। पहिल्यैदेखि चिनेका र कारोबार गर्दै आएका व्यापारी भएकाले शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको उनको भनाइ छ।

‘यी व्यापारीका मात्र के कुरा?’ शम्भु भन्छन्, ‘यिनले जुन मलाहा (माझी) सँग कोशीको किनारै किनार माछा संकलन गरेर ल्याएका हुन्छन्, ती मलाहालाई पनि मैले चिनेको हुन्छु।’

शम्भुका अनुसार यहाँ नियमित माछा ल्याइदिने तीन-चार जना व्यापारी छन्।

शम्भुको होटलमा यी सबै माछाको दर बेग्लाबेग्लै छ। साना माछा सबै दुई सय रुपैयाँ प्लेटका हिसाबले बिक्ने गरेको छ भने ठूला माछा तीन सय रुपैयाँ प्लेट।

‘बेच्न त जलकपुर पनि तीन सय रुपैयाँमै एक प्लेट बेच्छु,’ उनी भन्छन्, ‘जलकपुर छ भने प्लेटमा त्यसको मात्रा अलिक कम हुन्छ।’

उनले त्यसको कारण पनि खुलाए।

‘अरु सबै माछाको लगभग उस्तै मूल्य हुन्छ,’ थपे, ‘जलकपुरको भने व्यापारीले नै मसँग अरुभन्दा अलिक बढी लिने गर्छन्।’

माछाभात खान आउने ग्राहकलाई आधा प्लेट माछा हालिदिने गरेका कारण अन्यत्रका होटलमा तिरेको पैसाभन्दा शम्भु होटलमा निकै बढी खर्च लाग्दैन। उनका अनुसार यो होटलमा दैनिक औसत बीस किलो माछा खपत हुन्छ।

सुरुमा चिया, दूध र दही लगायत साकाहारी खानपिनको होटल समयसँगै धेरै परिवर्तन भइसकेको छ।

‘बुबाआमाकै पालामा माछा मासु पनि बेच्न सुरु गर्यौं,’ शम्भु भन्छन्, ‘अहिले यहाँ आउने ग्राहककै मागलाई ध्यानमा राखेर रक्सी र बियर पनि थपेका हौं।’

आफूहरुको निम्ति ग्राहकको सन्तुष्टि नै सबैभन्दा ठूलो भएकाले त्यसैअनुसार होटलमा परिवर्तन आइरहेको उनले बताए।

‘ठाउँमा आएर ठाउँको माछा खाएपछि मानिसलाई हल्का पिउँ भन्ने हुँदो रहेछ,’ शम्भुले थपे, ‘बिहारमा रक्सी प्रतिबन्धित हुनुअघि त उताका ठूल्ठूला मानिस पनि यहाँ आएर दिनभर रमाइलो गरेर फर्किने गरेका थिए।’

अहिले उताबाट ठूला मानिसहरु पिउन आउन बन्द भएको उनले बताए।

यो ठाउँमा कारोबार फस्टाउनुको मुख्य कारण कोशीकै माछा रहेको उनको बुझाइ छ। कोशी र अन्यत्रका माछा छुट्याउने गुण शम्भुमा कसरी विकास भयो?

जवाफमा उनले अनौठो मानेर ‘कस्तो प्रश्न सोधेको होला?’ भनेजस्तो हेरे। त्यसपछि बोल्न सुरु गरे।

‘म यहीँ कोशी किनारमा जन्मेको,’ उनले होटलको ठीक अघिल्तिर रहेको आफ्नो पुरानो घर देखाउँदै भने, ‘कोशीमा पौडँदै, माछा समात्दै र खेल्दै हुर्केको मानिसलाई कुन माछा कोशीको हो र कुन होइन भनेर थाहा हुँदैन?’

मैले कोशी र अन्यत्रका माछाको फरक बताइदिन अनुरोध गरेँ।

‘कोशीको माछा चाँदीजस्तो टलक्क टल्किने सेतो र देख्दै सफा हुन्छ,’ उनले थपे, ‘अन्तबाट ल्याएको माछामा लेउको प्रभावले हल्का कालो वा पहेँलो देखिन्छ।’

माछाको शरीरमा केही देखिएन भने पनि त्यसको कनपटी उठाएर हेर्ने हो भने स्पष्टै थाहा हुने उनले बताए।

शम्भुको परिवारले यहाँ हकभोग गरिरहेको घर र होटल सबै कोशी प्रोजेक्टकै जग्गा हो। यहाँबाट केही मिटर पर जानेबित्तिकै दसगजा सुरु हुन्छ।

‘उतिबेलैदेखि हामी यहाँ बस्दै र होटल चलाउँदै आइरहेका छौं,’ उनले भने, ‘जग्गा ऐलानी नै भए पनि २०२७ सालदेखि कोशी प्रोजेक्टबाट अनुमति पाएका आधारमा हामीले यसको हकभोग गरिरहेका छौं।’

यस्तो सम्पत्तिमा स्थायी प्रकृतिको कुनै संरचना खडा गर्न नमिल्ने भएकाले यो होटल र घर असाध्यै पुरानो भए पनि नयाँपन ल्याउन नसकिएको शम्भुले बताए।

‘पाएदेखि त यसलाई राम्रो देखिने गरी आधुनिकीकरण गर्ने सोच थियो,’ उनी भन्छन्, ‘ऐलानी जग्गामा त्यसो गर्न दिँदैनन्।’

शम्भुको होटल चलेको देखेरै त्यो भेगमै खाना खुवाउने होटल र अन्य पसल धेरैले खोलेका छन्। सबैलाई व्यापारको माग हेरेर प्रोजेक्टले नै दस, पन्ध्र र बीस फिटको जग्गा प्रयोग गर्ने अनुमति दिएको उनले बताए।

यसरी मिठो खानेकुरा पाइने पुरानो पसललाई राजमार्गको छेवैमा गएर खोल्न मन लागेन?

‘किन नलाग्नु?’ शम्भु भन्छन्, ‘एकातिर ठाउँ कताबाट पाउने भन्ने चिन्ता छ, अर्कातिर अहिले भइरहेकै होटल राम्रैसँग चलिरहेको अवस्थामा धेरै मानिस किन चाहियो भन्ने पनि लाग्दो रहेछ।’

पछिल्लो समय शम्भुलाई यो होटल चलाउनु भनेको पैसा कमाउने मात्र नभएर बुबा र आमाको प्रयासलाई निरन्तरता दिनु पनि हो जस्तो लागिरहेको छ। त्यसैले धेरै ग्राहकको पछि लाग्नुभन्दा उहिलेदेखि आइरहेका बुबाकै पालादेखिका मानिसलाई राम्रोसँग सेवा गर्नु ठूलो कुरा हो भन्ने उनी ठान्न थालेका छन्।

उनका सन्तानले यसलाई निरन्तरता देलान्?

‘चारै जनाले यो होटलमा रुचि देखाइरहेका छन्,’ उनले आफ्नो धारणा पनि राखिहाले, ‘ठूलो छोराले इच्छा गरेछ भने उसैले चलाओस् भन्ने लागिरहेको छ।’

उच्च शिक्षा अध्ययन गरेका सन्तानले जिम्मा लिइदिए यसलाई अझ राम्रोसँग अघि बढाउने सपना देखेका छन् शम्भुले।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.